काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालसँग सहकार्यको आह्वान गरेकी छन् । शनिबार बालुवाटारमा भएको छलफलमा तीनै शीर्ष नेताले चुनावमा जान तयार रहेको बताए पनि सुरक्षा व्यवस्थापनप्रति आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन लोकतन्त्रको आधार भएकाले सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताइन् । उनले सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा केन्द्रित रहेको र आवश्यक स्रोत–साधन उपलब्ध गराइसकेको स्पष्ट पारिन् ।

बैठकमा एमाले अध्यक्ष ओलीले पार्टी चुनावका लागि तयार भए पनि उपयुक्त वातावरण आवश्यक रहेको बताए । कांग्रेस सभापति देउवाले जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने धारणा राख्दै २१ फागुनमै निर्वाचन हुनुपर्ने बताए । नेकपा संयोजक दाहालले पनि चुनाव सार्ने कल्पना नगर्न आग्रह गर्दै समयमै निर्वाचन गराउन जोड दिए ।

प्रधानमन्त्रीका प्रेस संयोजकका अनुसार शीर्ष नेताहरूले समानुपातिक उम्मेदवारको बन्दसूची तोकिएको समयमै निर्वाचन आयोगमा बुझाउने जानकारी दिएका छन् ।