दक्षिण कोरिया

दक्षिण कोरियाको ओन्जुमा आइतबार ट्रकको ठक्कर लाग्दा नेपाली विद्यार्थी मनिषा दाहालको मृत्यु भएको छ।

सोलस्थित नेपाली दूतावासका अनुसार सडकमा हिँडिरहेको क्रममा ट्रकले ठक्कर दिँदा झापा निवासी २२ वर्षीया दाहालको घटनास्थलमै मृत्यु भएको हो। उनकाे शव नेपाल पठाउने प्रक्रिया अघि बढाइसकिएको दूतावासले जनाएको छ।

दाहाल एक वर्षअघि अध्ययनका लागि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटी गएकी थिइन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानका अनुसार दुर्घटनाकाे जिम्मेवारी चालकले स्वीकार गरिसकेको छ। उनले भनिन्, “हामी घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया तथा अन्य सहयोगका विषयमा सम्बन्धित निकायसँग छलफल गरिसकेका छौं। दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नु र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन एनआरएनए आवश्यक पहल गर्छ।”