काठमाडौँ — कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई बिहान ८ बजेदेखि अघि दूतावास परिसर तथा आसपास नआउन आग्रह गरेको छ।
दूतावासका अनुसार पछिल्लो समय बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू दूतावास क्षेत्र वरिपरि भेला हुने, खुला स्थानमा सवारी साधन पार्क गर्ने, भीडभाड सिर्जना गर्ने तथा ठूलो स्वरमा बोल्ने गतिविधिका कारण आसपासका स्थानीय बासिन्दाले पटक–पटक असुविधा भएको गुनासो गरेका छन्। दूतावास आवासीय क्षेत्रमा रहेको हुँदा यस्ता गतिविधिले स्थानीय समुदायमा असहजता पैदा भएको भन्दै समयपालनाको आग्रह गरिएको हो।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला हुने, खुला स्थानमा लामो समय सवारी साधन पार्किङ गर्ने, अनावश्यक भीडभाड तथा ठूलो स्वरमा होहल्ला गर्ने कार्यले छिमेकमा बसोबास गर्नेहरूलाई असहज बनाएको गुनासो दूतावासमा बारम्बार आइरहेको छ। त्यसैले सेवाग्राहीहरूले कार्यालय समयको ख्याल गरी मात्रै सेवा लिन आउनुहुन अनुरोध छ।”
सूचनामा थप उल्लेख छ, “जरूरी कारणवश छिट्टै आउनै पर्ने भए पनि बिहान ८ बजेपछि मात्र आउनुहोला। सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित हुनुपर्छ। साथै कार्यालय आसपास अनावश्यक रूपमा लामो समय वसेर भीडभाड नगर्नुहुन सबैमा अनुरोध गरिन्छ।”
