काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेल क्षेत्रबाट अनलाइनमार्फत ब्ल्याकमेलिङ तथा ठगीमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित पकनाजोल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये २५ वर्षीय एमडी मजिदुल इस्लाम रिदोयसहित अन्य बङ्गलादेशी नागरिक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले ठमेलको एक होटलका विभिन्न कोठा भाडामा लिएर विदेशी मोडल तथा युवतीका नाममा फेसबुकमा नक्कली खाता सञ्चालन गर्दै बङ्गलादेश र भारतका नागरिकलाई साथी बनाउने, कुराकानी गर्ने र त्यसपछि ब्ल्याकमेलिङ तथा ठगी गर्ने गरेका थिए।
भिजिट भिसामा नेपाल आएका उनीहरू भिसाको उद्देश्यविपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरू अनलाइन अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको जनाएको छ। नेपालमा बसेर विदेशी नागरिकलाई लक्षित गरी साइबर अपराध गरेको आरोपमा उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
