काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यसपटक चुनाव नलड्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
बैठकमा बोल्दै महामन्त्री शर्माले आफ्नो स्थानमा अन्य साथीलाई अघि सार्ने प्रस्ताव गरेर आफू जिल्लाबाट काठमाडौं फर्किएको बताए । उनले नेपाली राजनीतिमा देखिँदै आएको ‘सधैं उम्मेदवार बन्ने’ र ‘एकै क्षेत्र कब्जा गर्ने’ प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाए ।
‘आफ्नो क्षमताले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एउटा क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्को तहमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुन्जेल क्षेत्र कब्जा गर्ने सोच राख्ने र सासले भ्याएसम्म मन्त्री भइरहनुपर्ने प्रवृत्ति हाम्रो राजनीतिमा देखिन्छ,’ शर्माले बैठकमा भने, ‘यस किसिमको सोच र अभ्यास भत्काउन जरुरी छ ।’
महामन्त्री शर्मा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए । यसपटक पनि उनी सोही क्षेत्रबाट एकल सिफारिस भएका थिए । त्यसका लागि पार्टी र कार्यकर्ताप्रति धन्यवाद दिँदै उनले व्यक्तिगत रूपमा चुनाव नलड्ने निर्णय लिएको स्पष्ट पारे ।
‘गत चुनावमा म आफ्नै क्षेत्रमा सीमित थिएँ,’ शर्माले भने, ‘यसपटक भने पार्टीका उम्मेदवारहरूसँगै देशभर पुगेर सहयोग गर्नेछु ।’
