काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र फेरि विवाद चर्किएको छ । नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलागेकाले संस्थापन पक्षले महाधिवेशन निर्वाचनपछि सार्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

यसको विपक्षमा इतर समूह भने तोकिएकै मितिमा नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छ । उनीहरूले समयमै महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

कांग्रेसले लामो छलफलपछि २६–२९ पुसका लागि केन्द्रीय महाधिवेशन तय गरेको थियो । तर महाधिवेशन प्रतिनिधि छनोटका लागि आवश्यक क्रियाशील सदस्यताको विवाद अझै समाधान हुन सकेको छैन । यही कारण देखाउँदै संस्थापन पक्षले निर्वाचनको तयारीलाई प्राथमिकता दिनुपर्ने तर्क अघि सारेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने वडा र निर्वाचन क्षेत्रस्तरको अधिवेशन गरेर तोकिएको मितिमै केन्द्रीय महाधिवेशन गर्न सकिने बताउँछन् । उनीहरूका अनुसार पार्टीभित्रकै असहयोगका कारण क्रियाशील सदस्यता प्रक्रिया ढिलो भएको हो ।

महाधिवेशनको कार्यतालिका संशोधन गर्ने एजेन्डामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल जारी छ । यस विषयमा पार्टीभित्र सहमति नजुट्दा कांग्रेसको आन्तरिक राजनीति थप तातिने देखिएको छ ।