काठमाडौं । पुराना राजनीतिक दलहरू आगामी निर्वाचनमार्फत पुनः केन्द्रीय राजनीतिमा हाबी हुने र त्यसले देशको भविष्य अन्धकारतर्फ जाने भन्दै गैर–परम्परागत राजनीति, जेन–जी आन्दोलनका अगुवा तथा वैकल्पिक नयाँ शक्तिका नेताहरू तीव्र रूपमा सक्रिय बनेका छन् । निर्वाचन नजिकिँदै जाँदा उनीहरू सम्पूर्ण वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने प्रयासमा जुटिरहेका छन् ।

यसैक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अब सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सक्ने स्पष्ट संकेत दिएका छन् । गैर–राजनीतिक दल, अभियन्ता र वैकल्पिक शक्तिहरूको सक्रियतासँगै बालेनको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

गत बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग करिब छ घण्टा लामो भेटपछि बालेन सक्रिय राजनीतिमा आउने संकेत थप स्पष्ट भएको स्रोतहरूको भनाइ छ । सोही दिन उनले ललितपुरको ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको निवासमा दिनभर विभिन्न राजनीतिक कार्यकर्ता, अभियन्ता र नेताहरूसँग भेटघाट गर्दै आगामी राजनीतिक दिशाबारे छलफल गरेका थिए । बिहीबार पनि उनले राजनीतिक नेताहरूसँग संवादलाई निरन्तरता दिँदै सभापति लामिछानेलाई पुनः त्यहीँ भेट गरेका हुन् ।

समाचार स्रोतका अनुसार बालेन र लामिछानेबीचको पछिल्लो भेट अत्यन्त सकारात्मक रहेको छ । यद्यपि, निर्वाचनपछि देशको नेतृत्व कसले गर्ने भन्ने जस्ता मुख्य विषयमा अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताइएको छ । अधिकांश मुद्दामा भने मोटामोटी सहमति बनिसकेको स्रोतको दाबी छ ।

बालेन शाहले उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका छन् । घिसिङसँगको भेटमा सम्भावित सहकार्यका मार्गबारे संवाद भएको र मिलेर अघि बढ्ने विषयमा सकारात्मक कुरा भएको बताइएको छ ।

ज्वागलमा करिब १२ घण्टा बिताएका बालेन अहिले विभिन्न शक्ति र समूहसँग सहकार्य वा एकताको बाटो रोज्ने कि स्वयं नयाँ पार्टी गठन गरेर अघि बढ्ने भन्ने विकल्पमा गम्भीर विचार र छलफलमा छन् ।

यसैबीच, रास्वपा सभापति लामिछाने मेयर शाहसँग भेटवार्ता गरेर बाहिरिसकेका छन् । भेटको विषयवस्तुबारे विस्तृत जानकारी सार्वजनिक नगर्दै उनले सञ्चारकर्मीहरूसँग ‘वार्ता सफल भएको’ भन्ने संक्षिप्त प्रतिक्रिया मात्र दिएका छन् । भेटमा जेन–जी आन्दोलनका अगुवा रक्ष बम, रास्वपाका नेता शिशिर खनाल, नेता अमृरेश यादवलगायतका व्यक्तिहरू पनि उपस्थित थिए ।

भेटको औपचारिक विवरण सार्वजनिक नभए पनि बालेन शाह र रवि लामिछानेबीचको निरन्तर संवादले आगामी निर्वाचन र त्यसपछिको राजनीतिक समीकरणमा नयाँ ध्रुव निर्माणको सम्भावनालाई बल दिएको छ ।

२१ फागुनका लागि घोषित निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमको समयसीमाले राजनीतिक गतिविधिमा दबाब बढाइरहेका बेला बालेन केही समय पितृशोकमा रहेका थिए । शोक अवधिपछि अब बाँकी समयमा उनले राजनीतिक संवादको ‘म्याराथन’ सुरु गरेका छन् ।