काठमाडौं
महाधिवेशन मितिलाई लिएर जारी आन्तरिक विवाद चुलिँदै गएपछि नेपाली कांग्रेसको भोलिका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा भएका छलफल निष्कर्षमा नपुगेपछि बैठक सारिएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पर्सि सोमबारका लागि सारिएको जानकारी दिएका छन्। महाधिवेशनको मितिबारे सहमति बनाउन सभापति देउवाले निरन्तर पहल गरे पनि नेताहरूबीच एकमत कायम हुन नसक्दा विवाद झन् गहिरिँदै गएको छ।
शनिबार पनि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। पार्टी स्रोतका अनुसार देउवा पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने पक्षमा उभिएका छन्। उनी विशेष महाधिवेशनको सट्टा निर्धारित समयमै नियमित महाधिवेशन गर्न आग्रह गरिरहेका छन्।
महाराजगञ्जमा भएको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। एक नेताका अनुसार छलफलमा सभापति देउवाले भने, “विशेष महाधिवेशन नगर्नु मेरो धारणा हो। मंसिर, पुस, माघ—जे बेला हुन्छ नियमित महाधिवेशन गरौँ, मिलेर जाऔँ।” सो छलफलमा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको माग फिर्ता नलिने अडान दोहोर्याए।
थापा जेन–जी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै विशेष महाधिवेशनमै जानुपर्ने धारणा राख्दै आएका छन्। यस्तै, नेताहरू रमेश लेखक, शेखर कोइराला तथा महामन्त्री विश्वप्रकाश शर्माले पनि पुसमै नियमित महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए। तर विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले पुसमा महाधिवेशन गर्न सम्भव नहुने ठान्दै फागुन २१ को निर्वाचनलाई असर पर्ने तर्क गरेका थिए।
छलफलमा निधि र सिटौलाको धारणा उद्धृत गर्दै एक नेताले भने, “पुसमा गर्न सम्भव हुँदैन। राष्ट्रियसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार टुंग्याउन समय चाहिन्छ। प्रचार–प्रसारमा समय दिनुपर्छ। त्यसैले पुसमा महाधिवेशन गर्न मिल्दैन।” निधि र सिटौलाले पर्याप्त समय नहुने भन्दै निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने अडान राखेका थिए।
त्यसै नेताले थपे, “हामी ९० जना नेताहरूले धेरै छलफल गर्यौँ। सबैको धारणा एउटै थियो—चुनावपछि मात्रै महाधिवेशन गरौँ। सहमति नभए प्रक्रिया अनुसार निर्णय गरौँ। आज पनि सहमति नजुटेपछि आइतबारका लागि तोकिएको बैठक स्थगित भएको हो।”
