न्यूजिल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले अघि सारेका विभिन्न सामाजिक, व्यवसायिक तथा रचनात्मक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गराउन सक्रिय भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थाहरूलाई एक विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै एनआरएनए न्यूजिल्याण्डका अध्यक्ष अच्युत अर्यालले संस्थाले नयाँ नेतृत्व पाएको छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल हुनुमा सम्पूर्ण सदस्यहरू तथा विभिन्न संस्थाहरूको सक्रिय सहभागिता नै मुख्य कारण भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी र समुदाय केन्द्रित नयाँ कार्यक्रमहरू अघि बढाउने जानकारी गराउँदै त्यसका लागि निरन्तर सहकार्य र सहभागिताका लागि सबैसँग अपिल गर्नुभयो।

एनआरएनए न्यूजिल्याण्डले पछिल्लो समय सिलाइ–बुनाइ तालिम, एकाउन्टिङ तालिम, बारिस्टा तालिम, इमिग्रेसन प्रक्रियासम्बन्धी परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाली समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाक फर हेल्थ’ अभियान पनि सफलतापूर्वक सम्पन्न गरेको थियो। उक्त अभियानअन्तर्गत ४० दिनसम्म दैनिक ८८४८ कदम हिँड्ने चुनौती प्रस्तुत गरिएको थियो, जसमा उल्लेखनीय सहभागिता देखिएको थियो।

संस्थाले अघि सारेका कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्‍याउनेप्रति विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष अर्यालले ग्रेस इन्टरनेशनल एजुकेशन (मन्दिरा रिमाल), एक्सपोर्ट एजुकेशन न्यूजिल्याण्ड, एक्सेस एजुकेशन नेटवर्क, ह्वाइट क्लाउड इमिग्रेसन, लिंक एजुकेशन, हिमालयन इमिग्रेसन, एनएनवानी (NNWANI) तथा परदेशी मिडिया (हाल परिवर्तित नाम हिमालपारी मिडिया ग्रुप लिमिटेड), लगायत विभिन्न ब्यक्ति तथा संस्थाहरुको योगदानको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रम संयोजनमा डा. सुनिल ढकाल (समन्वयक), सुबोध ढकाल, सुमन ढुंगेल, कमल भट्टराई र डा. विकास पोखरेलको सक्रिय भूमिका रहेको थियो। लेखा तालिमतर्फ दिपेन्द्र केसी, राजु कार्की, योगेन केसी, युगेष सेढाईं, रेभत बस्नेत, कमल भट्टराई तथा बिपन भण्डारी (समन्वयक) ले महत्वपूर्ण योगदान दिएका थिए।

एनआरएन सिटिजन समन्वयकका रूपमा डा. बिनोद आचार्य तथा सिलाइ तथा अल्टरेशन सेवामा परम्परा कोइराला गिरी (NNWANI) ले सहयोग पुर्‍याएका थिए।

‘वाक फर हेल्थ’ अन्तर्गत सञ्चालन गरिएको ४० दिने ८८४८ स्टेप्स च्यालेन्जको अन्तिम लक्की ड्रमार्फत डा. मनोज पोखरेल र दिपेन्द्र केसीले स्मार्ट वाच जित्न सफल भएका छन्। दुवै विजेता कार्यक्रममा नियमित सहभागिता जनाउँदै निरन्तर ४० दिनसम्म चुनौती पूरा गर्ने सहभागीमध्ये पर्न सफल भएका थिए।

कार्यक्रममा एनआरएनए न्यूजिल्याण्डका महासचिव कमल बसेलले संस्थाले अघि सारेका हरेक अभियानमा आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दै सबै सहयोगी व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।