काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान सोमबार पनि जारी राखिएको छ। काठमाडौँ महानगरपालिकाले कागेश्वरी मनोहरासहित थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा खोलाकिनारका अवैध संरचनाहरू हटाएको जनाएको छ।
बस्ती हटाइएपछि विस्थापित परिवारहरूका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण दर्ता केन्द्र सञ्चालनमा ल्याइएको छ। सोमबार साँझसम्म ९ सय ३६ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्, जसमा करिब ४ हजार सदस्य रहेका छन्।
सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई वैकल्पिक आवास उपलब्ध गराउने तयारी गरेको छ। प्रभावित परिवारहरूलाई हाल अस्थायी आश्रयस्थलमा राखिएको छ भने दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।
अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा दर्ता गराउनेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। महानगरले हटाइएका क्षेत्रहरूमा पुनः अतिक्रमण हुन नदिन निगरानी कडा बनाउने जनाएको छ।
