न्युजिल्यान्डमा ई–स्कुटर प्रयोगसँग सम्बन्धित चोटपटकका घटना उल्लेखनीय रूपमा बढ्दै गएका छन् । दुर्घटनाबाट सबैभन्दा बढी प्रभावित हुने समूहमा २५ वर्षभन्दा कम उमेरका युवाहरू रहेको तथ्यांकले देखाएको छ ।
दुर्घटना क्षतिपूर्ति निगम (एसीसी)लाई उल्लेख गदै आरएनजेडले लेखेको समाचार अनुसार सन् २०२६ को सुरुदेखि फेब्रुअरीको प्रारम्भसम्म दर्ता भएका नयाँ ई–स्कुटर दाबीमध्ये करिब आधा २५ वर्षभन्दा कम उमेरका व्यक्तिसँग सम्बन्धित छन् । सन् २०२२ देखि २०२४ सम्म प्रत्येक वर्ष करिब ४० प्रतिशत दाबी २५ वर्षमुनिका थिए भने सन् २०२५ मा यो दर बढेर ४७ प्रतिशत पुगेको छ ।

विशेषगरी १० देखि १४ वर्ष उमेर समूहमा दाबीको संख्या तीव्र रूपमा बढेको छ । सन् २०२२ मा यस उमेर समूहका २०३ नयाँ दाबी दर्ता भएकोमा सन् २०२५ सम्म आइपुग्दा यो संख्या तीन गुणा बढेर ६०५ पुगेको छ । सन् २०२२ को तुलनामा सन् २०२५ मा २५ वर्षमुनिका दाबी ८५ प्रतिशतले बढेको छ भने सबै उमेर समूहमा ५५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

एसीसीका अनुसार यो तथ्यांक व्यक्तिहरूले आफ्ना चोटबारे दिएको विवरणका आधारमा तयार गरिएको हो । दाबी दर्ता भएको मितिलाई आधार मानिएको छ, न कि दुर्घटना घटेको मिति । चोटको गम्भीरता, कसरी दुर्घटना भयो वा प्रभावित व्यक्ति चालक थिए कि पैदलयात्री भन्ने विवरण यस तथ्यांकमा समावेश छैन ।

स्टारशिप अस्पतालका बाल आपतकालीन विशेषज्ञ डा। स्टुअर्ट डाल्जियलले आपतकालीन कक्षमा आउने घटनासँग यी तथ्यांक मिल्दोजुल्दो रहेको बताउनुभयो । उहाँका अनुसार केही चोट सामान्य भए पनि टाउको वा अनुहारमा लागेको चोट गम्भीर र कहिलेकाहीँ ज्यानै जोखिममा पार्ने खालको हुने गरेको छ । “थोरै संख्यामा भए पनि केहीका लागि यी चोट जीवन–घातक हुन सक्छन्,” उहाँले भन्नुभयो ।

तथ्यांकअनुसार ई–स्कुटर दुर्घटनामा सबैभन्दा धेरै मांसपेशी, स्नायु वा टेन्डनमा लाग्ने नरम ऊतकको चोट ९मर्किनु, निलडाम आदि० देखिन्छ । त्यसपछि चिरा, घाउ तथा हड्डी भाँचिने वा जोर्नी उखेलिने समस्या बढी देखिएका छन् ।

डा। डाल्जियलले न्युजिल्यान्डमा ई–स्कुटर चलाउँदा हेल्मेट अनिवार्य गर्नुपर्ने सुझाव दिनुभयो । हाल हेल्मेट प्रयोग “कडा सिफारिस” मात्र गरिएको छ, अनिवार्य छैन । उहाँले सुरक्षित रूपमा स्कुटर चलाउनेबारे जनचेतनामूलक अभियान सञ्चालन गर्न र सम्भव भएसम्म स्कुटरलाई छुट्टै साइकल लेनमा चलाउने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय पार्टीकी सांसद क्याथरिन वेडले ई–स्कुटरलाई पैदलमार्गबाट हटाई सम्भव भएसम्म छुट्टै साइकल लेनमा सार्ने अभियान नेतृत्व गरिरहनुभएको छ । सन् २०२६ को मध्यसम्म यससम्बन्धी परिवर्तन अपेक्षित छ । हाल न्युजिल्यान्ड यातायात निकायका नियमअनुसार ई–स्कुटर पैदलमार्ग वा सडकमा चलाउन पाइन्छ, तर सडककै भागका रूपमा रहेका छुट्टै साइकल लेनमा चलाउन पाइँदैन ।

एसीसीका अनुसार सन् २०२५ मा ई–स्कुटरसम्बन्धी चोटका लागि करिब एक करोड ६० लाख डलर क्षतिपूर्ति भुक्तानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १० प्रतिशत बढी हो । सन् २०२६ को जनवरी महिनामा मात्र १२ लाख ६० हजार डलरभन्दा बढी भुक्तानी भइसकेको छ ।

एसीसीले ई–स्कुटर प्रयोगकर्तालाई केही सावधानी अपनाउन सुझाव दिएको छ—भीडभाड नभएको स्थानमा अभ्यास गर्ने, प्रयोगअघि स्कुटरको अवस्था जाँच गर्ने, सुरुआतमा बिस्तारै गति लिने, एकपटकमा एकजनामात्र चढ्ने र अनिवार्य रूपमा हेल्मेट लगाउने ।

विशेषज्ञहरूका अनुसार ई–स्कुटर प्रयोग बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको हुन सक्छ । सन् २०१८ मा ई–स्कुटर सुरु भएपछि चोटको संख्या एकपटक बढेको थियो, कोभिड–१९ लकडाउनका समयमा घटे पनि त्यसयता पुनः क्रमिक रूपमा वृद्धि भइरहेको छ ।
समाचार र फोटो स्रोत आरएनजेड