काठमाडौं
कात्तिक महिनामा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । गत असोज १५, १६ र १७ गते भएको लगातार वर्षाले विशेष गरी पाक्ने अवस्थाका धानबालीमा सबैभन्दा ठूलो असर पारेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा तयार पारिएको स्थलगत प्रतिवेदनले निष्कर्ष निकालेको हो । मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ कृषि अर्थशास्त्री महानन्द जोशीका अनुसार यस विपत्ले सबैभन्दा बढी क्षति कोशी प्रदेशमा पुर्याएको छ, जहाँ झापा जिल्ला धानबाली क्षतिमा सबैभन्दा प्रभावित भएको पाइएको छ ।
मन्त्रालयको प्रतिवेदन अनुसार समग्रमा करिब २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट वा प्रभावित भएको छ । अविरल वर्षाले धानपछि तरकारी, केरा, आलुसहित अन्य नगदेबालीमा पनि उल्लेखनीय क्षति पुर्याएको छ । सूचना अधिकारी जोशीका अनुसार मधेस, वागमती र गण्डकी प्रदेश पनि क्षतिग्रस्त भएका छन्, जसमा मधेस प्रदेश विशेष गरी तरकारीबालीको क्षतिका कारण उच्च जोखिममा रहेको देखिन्छ ।
सरकारले प्रारम्भिक मूल्यांकनका आधारमा चालु आर्थिक वर्षमा धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ । मधेस प्रदेशमा सुख्खा र त्यसपछिको अविरल वर्षाको दोहोरो असरका कारण बाली उत्पादन घट्ने निश्चितजस्तै देखिएको जोशीले बताउनुभयो । तरकारीबालीमा भएको क्षति मधेस प्रदेशमा बढी रहेकाले समग्र तरकारी उत्पादनमा पनि गिरावट आउने प्रतिवेदनले संकेत गरेको छ ।
विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अध्ययन प्रतिवेदनले प्रदेश तथा स्थानीय सरकारलाई चेतनामूलक कार्यक्रम विस्तार गर्न, मौसमसम्बन्धी जानकारी समयमै कृषकसम्म पु¥याउन र सूचना प्रसारण प्रणालीलाई मजबुत बनाउन सुझाव दिएको छ । कृषकलाई कृषि बीमामा जोडिन प्रोत्साहित गर्नुपर्ने, दातृ निकायले राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्ने तथा प्रभावित किसानका समस्या तत्काल सम्बोधन गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने सुझाव पनि प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनले कात्तिकको वर्षाले धानबालीमा मात्र २ अर्ब ६६ करोड ४१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उल्लेख गरेको छ । देशभर २० हजार १.५२ हेक्टरमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा झन्डै २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको छ । त्यसपछि मधेस प्रदेशमा २२ करोड ७६ लाख र लुम्बिनी प्रदेशमा १३ करोड ६८ लाख बराबरको क्षति पुगेको प्रतिवेदनले देखाएको छ ।
जिल्लागत रूपमा झापा ८० करोड ७३ लाख रुपैयाँ क्षतिसहित सबैभन्दा बढी प्रभावित भएको छ । मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदेबालीमा २ करोड ४१ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका तरकारी पकेट क्षेत्र बढी प्रभावित रहेका छन् । न्युज एजेन्सी नेपालको सहयोगमा तयार समाग्री
