काठमाण्डौं ।
पाँचौं खेलमा तेस्रो हार बेहोरेपछि चितवन राइनोजका विदेशी खेलाडी डेविड मालनले जीतका लागि प्रस्तुत गरिएको लक्ष्य पर्याप्त रहेको बताए पनि दोस्रो इनिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा पराजय व्यहोर्नुपरेको टिप्पणी गरेका छन्। जनकपुर बोल्ट्सविरुद्ध चितवनले राम्रो स्कोर खडा गरे पनि बलिङमा साथ नपाउँदा खेल हातबाट गएको मालनको भनाइ थियो।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले ओपनिङ साझेदारी परिवर्तन गर्ने निर्णय सही थियो भने पनि दोस्रो इनिङमा योजनाअनुसार खेल्न नसकिएको उल्लेख गरे। विदेशी खेलाडीको भूमिकाबारे प्रश्नमा उनले रवि बोपाराले पछिल्ला खेलहरूमा राम्रो फर्म देखाइरहेको बताए। आफू पनि आज राम्रो खेल्न पाउनु सुखद रहेको भन्दै मालनले बाँकी दुई खेल जिते प्लेअफ सम्भव हुने विश्वास व्यक्त गरे।
यता, जनकपुर बोल्ट्सका कप्तान अनिल साहले व्यक्तिगत र टिम दुवैका लागि रन तथा जितको खाता खोल्न पाउँदा खुशी लागेको जनाएका छन्। लगातार चार खेलमा हार भोगेपछि आजको जित टोलीको मनोबलका लागि महत्वपूर्ण रहेको उनले बताए। छिटो जित हात परेको कारण नेट रनरेटमा समेत सुधार हुने उनको अपेक्षा छ।
साहले यस वर्ष घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट कम खेल्न पाएको कारण प्रदर्शनमा असर परेको स्वीकार गरे। पछिल्ला खेलहरूमा रन ननिस्कँदा मानसिक दबाब रहेको उल्लेख गर्दै उनले आज टिमले साथ दिएको र आफूसमेत रन निकाल्न सफल भएको बताए। कप्तानको भूमिकाबाट हटे पनि खेल्ने इच्छाशक्ति अझै रहेको उनी भन्छन्, तर टिम संयोजनअनुसार आफू बाहिर बस्नु स्वाभाविक भएको उनले स्पष्ट पारे।
साहका अनुसार खराब प्रदर्शनले टिम र समर्थक दुवै प्रभावित भएका छन्, तर जनकपुरका प्रशंसक जहाँ भए पनि टोलीलाई समर्थन गरिरहेका छन् भन्ने विश्वास उनले व्यक्त गरे। न्युज एजेन्सी नेपालको सहयोगमा तयार समाग्री
