इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गत गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी आक्रमणमा मारिएको दाबी गरिएको छ। आइआरजीसीले सोमबार एक विज्ञप्ति जारी गर्दै खादेमीको मृत्यु पुष्टि गरेको जनाएको छ।
विज्ञप्तिअनुसार, “माजिद खादेमीको मृत्यु सोमबार बिहान, अप्रिल ६ मा भएको हो।” यद्यपि आक्रमणको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
यसबीच, इजरायलका रक्षा मन्त्री र इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले खादेमीको हत्या आफ्नो कारबाहीबाट भएको दाबी गरेका छन्। आइडीएफले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै खादेमीको मृत्यु आइआरजीसीका लागि “अर्को ठूलो झट्का” भएको उल्लेख गरेको छ।
खादेमी इरानको सुरक्षा संरचनामा महत्वपूर्ण व्यक्तित्व मानिन्थे। उनको मृत्युले मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने विश्लेषण गरिएको छ। पछिल्लो समय इरान, अमेरिका र इजरायलबीचको सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको अवस्थामा यो घटना महत्वपूर्ण रूपमा हेरिएको छ।
घटनाबारे स्वतन्त्र पुष्टि भने अझै हुन सकेको छैन भने यसले क्षेत्रीय सुरक्षामा पर्ने प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्न थालेको छ।
