साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफा कम्पनीमा कार्यरत ५० भन्दा बढी नेपाली श्रमिक गम्भीर समस्यामा परेका छन् । काठमाडौंको गौशालास्थित नेपाल लाइफ रिक्युटमेन्ट लगायत विभिन्न म्यानपावर कम्पनीमार्फत झण्डै दुई वर्षअघि साउदी पुगेका उनीहरूले अहिले आफूहरू बिचल्लीमा परेको भन्दै उद्धारको माग गरेका छन् ।

श्रमिकहरूका अनुसार कम्पनीले लामो समयदेखि तलब नदिएको मात्र होइन, खान–बस्न र आधारभूत सुविधा समेत उपलब्ध गराएको छैन। ५० डिग्रीसम्मको अत्यधिक गर्मीमा काम गर्न बाध्य पारिए पनि श्रमिकहरूले ५/६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कसैको ३ महिना, कसैको ४ महिना त कसैको ६ महिनासम्मको तलब बाँकी रहेको उनीहरूको भनाइ छ।

एक पीडितले बताएअनुसार, “कम्पनीले पटक–पटक तलब दिने आश्वासन दिन्छ, तर व्यवहारमा कहिल्यै दिँदैन । काम गराउँछ, पैसा दिँदैन ।” उनीहरूका अनुसार कम्पनीले कहिले काममा लगाउने र कहिले बिदा बस्न बाध्य बनाउने गर्छ, तर बिदा बस्दा उल्टै तलब काट्ने गरिएको छ।

श्रम सम्झौताअनुसार मासिक १५०० रियाल तलब पाउने भनिए पनि व्यवहारमा ४०० देखि ६०० रियाल मात्र दिइने गरेको श्रमिकहरूको गुनासो छ । “६०० रियालमा आफू खाने कि परिवारलाई पठाउने?” एक श्रमिकले पीडा व्यक्त गरे ।

नेपालबाट जाँदा आफूहरूलाई ‘फ्री भिसा’ भनिए पनि वास्तविकतामा २ लाखदेखि २ लाख २५ हजार रुपैयाँसम्म तिरेर, ऋण काढेर साउदी पुगेको उनीहरूले बताएका छन् । साथै दैनिक १० घण्टा काम हुने भनिए पनि काम भएको दिन १२ देखि १६ घण्टासम्म खटिनु परेको उनीहरूको भनाइ छ। ओभरटाइम गरेको कुनै पारिश्रमिक नदिइएको पनि उनीहरूले गुनासो गरेका छन् ।

श्रमिकहरूले बसोबास र खानपानको अवस्था झन् दयनीय रहेको बताएका छन्। एउटै कोठामा १० देखि २० जनासम्म बस्न बाध्य छन् भने एक महिनादेखि बिहानको नास्ता समेत नदिइएको उनीहरूको भनाइ छ । “काम छैन भने खाना पनि छैन भन्दै कम्पनीले सबै बन्द गरिदिएको छ,” एक पीडितले बताए ।

पछिल्लो १५ दिनदेखि काममा समेत नलगाइएको र घर फर्कन आग्रह गर्दा पनि ‘२ वर्ष पूरा गर्नैपर्छ’ भन्दै धम्की दिइएको श्रमिकहरूको आरोप छ । विरोध गर्दा कुटपिट र कारबाहीको धम्की दिने गरिएको उनीहरूले बताएका छन्।

समस्याबारे कम्पनी, नेपालस्थित म्यानपावर, स्थानीय एजेन्ट तथा नेपाली दूतावासलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो श्रमिकहरूको छ। बाध्य भएर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा उल्टै थप दबाब आएको उनीहरूले बताएका छन् ।

बिरामी हुँदा उपचार नपाएको र बीमा सुविधा पनि उपलब्ध नगराइएको श्रमिकहरूको भनाइ छ । “हामी यहाँ परिवारका लागि दुई पैसा कमाउन आएका थियौं, तर उल्टै पीडामा परेका छौं,” एक श्रमिकले दुखेसो पोखे ।

पीडित श्रमिकहरूले आफूहरूको तत्काल उद्धार गरी स्वदेश फर्काइदिन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको अवस्था मानवअधिकार र श्रम अधिकारको गम्भीर उल्लंघन भएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।