काठमाडौं– संयुक्त राज्य अमेरिकाबाट गत बुधबार हतकडीसहित स्वदेश फर्काइएका ३५ नेपालीमध्ये केहीले अमेरिका पुग्न ३० लाखदेखि २ करोड रुपैयाँसम्म खर्च गरेको पाइएको छ ।  अमेरिका जानकै लागि उनीहरूले यस्तो ठूलो रकम विभिन्न दलाललाई बुझाएका थिए।

अमेरिकाले अवैध प्रवेश, भिसा अवधि सकिनु, अध्ययन अवधि नबढ्नु तथा कागजपत्र अपूर्ण हुनुजस्ता कारणले धेरै आप्रवासीलाई डिपोर्ट गरिरहेको छ, जसको प्रभाव नेपालीमाथि पनि परेको छ। फेब्रुअरी २०२५ पछि अमेरिकाले अवैध आप्रवासीमाथि कडा निगरानी थालेसँगै अहिलेसम्म ५०० नेपाली डिपोर्ट भइसकेका छन्।

पर्यटक भिसामा गएकामध्ये भिसा अवधि सकिएपछि र अध्ययनका लागि गएका मध्ये कलेज नजाई अन्य गतिविधिमा संलग्न भएकाहरूलाई पक्राउ गरी डिपोर्ट गरिएको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार डिपोर्ट भएकामध्ये ३३ जना मेक्सिको हुँदै ‘तल्लो बाटो’ प्रयोग गरेर अमेरिका छिरेका थिए। अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये सबैभन्दा धेरै दाङका १४ जना तथा रुकुमपूर्व–पश्चिमका ११ जना छन्। डिपोर्टको प्रमुख कारण ‘गैर–आवासीय प्रवेश’ उल्लेख गरिएको छ। सूचीअनुसार महोत्तरी, मकवानपुर, काठमाडौं, रोल्पा, बाँके, बाग्लुङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लाबाट पनि एक–एक जना डिपोर्ट भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनीहरूलाई अध्यागमन कार्यालयमार्फत आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ। डिपोर्ट भएकाहरूको उमेर १८ देखि ५७ वर्ष बीच रहेको अध्यागमनले जनाएको छ।