युक्रेनका शीर्ष वार्ताकार एन्ड्रिय येरमाकले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमा रहुञ्जेल शान्ति सम्झौताको नाममा रूसलाई कुनै पनि भूभाग कहिल्यै हस्तान्तरण नहुने स्पष्ट  पारेका छन्।

‘आजका अवस्थामा कुनै पनि सचेत व्यक्ति आफ्नो जमिन त्याग्ने कागजातमा हस्ताक्षर गर्ने छैन’ द एटलान्टिक पत्रिकासँगको अन्तर्वार्तामा उनले भने । अमेरिकाली अधिकारीहरूसँग एक सातासम्म चलेको छलफलपछि दिएको अन्तर्वार्तामा उनले भने, किएभ शान्ति प्रक्रिया र वार्ताका लागि खुला छ, तर भूभाग त्याग्ने प्रश्न कुनै हालतमा स्वीकार्य छैन र वासिङ्टनलाई पनि यही संदेश दिने प्रयास भएको हो।

यसअघि राष्ट्रपति जेलेन्स्कीले जेनेभा वार्ताका आधारमा सम्भावित शान्ति सम्झौता तयार पार्ने उद्देश्यले युक्रेनी तथा अमेरिकी प्रतिनिधिमण्डल यसै साता भेट्न सक्ने बताएका थिए। येरमाकको अभिव्यक्ति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्ला टिप्पणीपछि आएको हो, जहाँ पुटिनले शान्ति सम्झौता सम्भव हुनका लागि युक्रेनले केही भूभाग छाड्नुपर्ने बताउँदै आएका छन्।

तर, किर्गिस्तानमा दिएको भाषणमा पुटिनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २८(बुँदे योजना ‘भविष्यका सम्भावित सम्झौताहरूको आधार बन्न सक्ने’ दाबी गरे।

किर्गिस्तान भ्रमणकै क्रममा उनले युक्रेनी सेना आफ्नो “अन्यायपूर्वक कब्जा गरिएको” क्षेत्रमा फिर्ता नभएसम्म रूसले हतियार नबिसाउने चेतावनी दिए। डोन्बास क्षेत्रमा युक्रेनी सेना पछि हटेपछि मात्रै युद्ध अन्त्य हुने, अन्यथा सैन्य बल प्रयोग गरेर लक्ष्य हासिल गरिने उनको भनाइ थियो।

पुटिनले युक्रेनको पोक्रोभ्स्क शहर रूसी सेनाले घेरेको र ७० प्रतिशत क्षेत्रमा नियन्त्रण लिएको दाबी गरे। यद्यपि किएभले यो दाबी असत्य भएको जनाएको छ। हाल युक्रेनको पाँचमध्ये एक भाग रूसी नियन्त्रणमा रहेको मानिन्छ। कब्जा गरिएको भूभाग नत्याग्ने युक्रेनको अडान नै शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोध बनेको छ।

यसबाहेक, भविष्यमा रूसबाट सम्भावित पुनः आक्रमण रोक्नका लागि पश्चिमी सुरक्षा ग्यारेन्टी युक्रेनको अर्को प्रमुख माग बनेको छ, जसलाई शान्ति वार्तामा अत्यन्त महत्वपूर्ण मानिएको छ।

(एजेन्सीहरूको सहयोगमा)