आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिनुभएका शाहको योगदानको स्मरण गर्दै राजधानी काठमाडौंसहित विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, माल्यार्पण तथा विशेष कार्यक्रम आयोजना गरिएका छन्।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सम्मानमा सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको सालिकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिँदैछ। यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ, जहाँ प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। शाहको जन्मस्थल गोरखामा पनि हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्दै आधुनिक नेपालको आधार तयार गर्नुभएको थियो। २० वर्षको उमेरमा गद्दीआरोहण गर्नुभएका शाहको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने प्रेरणा दिने विश्वास लिइन्छ। साथै, युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन यस दिवसको विशेष महत्व रहेको बताइन्छ।