काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेना परिचालन गरिने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनको एक महिनाअघिदेखि नै सेना फिल्डमा परिचालन हुनेछ। एकीकृत सुरक्षा योजनाले दिएको मार्गदर्शनअनुसार सुरक्षा व्यवस्था लागू गरिने उहाँले जानकारी दिनुभयो। सेनाको परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ।

निर्वाचन अवधिभर नेपाली सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी बहन गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा गर्नेछ।

त्यसैगरी निर्वाचन अवधिमा सेनाले चारै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सहकार्य गरी तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गर्नेछ, जसले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचन स्थल र केन्द्रमा खटिँदै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको प्रत्याभूति दिनेछ। मतदानपछि मतपेटिका ढुवानी, मतगणनास्थलको सुरक्षा लगायतका जिम्मेवारी पनि सेनाले सम्हाल्नेछ।

विगतमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गर्ने तयारी भइरहेको सेनाले जनाएको छ। निर्वाचनलाई लक्षित गरी हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीसमेत सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गर्दै सरकारले आवश्यक थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा राज्यको प्राथमिक कार्यभारका रूपमा निर्वाह गर्न नेपाली सेना पूर्ण रूपमा तयार रहेको प्रवक्ता बस्नेतले बताउनुभयो।