अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अवरुद्ध बनेको होर्मुज जलडमरु मार्ग पुनः सञ्चालनका लागि न्युजिल्याण्डलाई सहयोग गर्न औपचारिक रूपमा आह्वान गरेको छ । विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने उक्त समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय आपूर्ति शृंखला प्रभावित बनेको स्मरण गर्दै सो मार्ग खुलाउने बारेमा सहयोग गर्न आग्रह गरेको हो ।

अमेरिकी प्रशासनले विभिन्न देशहरूलाई समेटेर बहुराष्ट्रिय गठबन्धनमार्फत उक्त मार्ग सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने योजना अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसै सन्दर्भमा न्युजिल्याण्डलाई पनि प्रारम्भिक प्रस्ताव पठाइएको जनाइएको छ ।

न्युजिल्याण्डका परराष्ट्रमन्त्री विन्स्टन पिटर्सका प्रवक्ताका अनुसार उक्त प्रस्तावबारे “प्रारम्भिक जानकारी” प्राप्त भएको छ र सरकारले अहिले त्यसबारे थप विवरण संकलन गरिरहेको छ । “हामी यस प्रस्तावबारे थप प्रश्न सोध्ने र जानकारी लिने प्रक्रियामा छौं, त्यसैले अहिले कुनै निर्णयको नजिक छैनौं,” उनले भनेका छन् ।

प्रधानमन्त्री क्रिस्टोफर लकसनले पनि अमेरिका, बेलायत र फ्रान्सबाट आएका सम्भावित प्रस्तावहरू अझै स्पष्ट नभएको उल्लेख गर्दै विस्तृत अध्ययनपछि मात्रै न्युजिल्याण्डको भूमिका तय हुने बताएका छन्। उनका अनुसार यस विषयमा अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ ।

सरकारले स्पष्ट रूपमा दिगो युद्धविराम, अन्तर्राष्ट्रिय कानुनको पालना र आवश्यक परे संयुक्त राष्ट्रसंघको अनुमतिसहित मात्रै कुनै पनि सैन्य वा प्राविधिक सहयोगबारे विचार गर्ने जनाएको छ ।

विपक्षी लेबर पार्टीकी विदेश मामिला प्रवक्ता वनुशी वाल्टर्सले पनि न्युजिल्याण्डले बल प्रयोगमा आधारित कुनै कदममा सहभागी हुनुहुँदैन भन्दै अन्तर्राष्ट्रिय कानुनी मापदण्ड अनिवार्य हुनुपर्ने बताएकी छन् ।

पूर्व रक्षामन्त्री वेन म्यापले भने आवश्यक परे न्युजिल्याण्डसँग सीमित रूपमा योगदान गर्न सक्ने क्षमता रहेको बताएका छन्। उनका अनुसार नौसैनिक जहाज पठाउन समय लागे पनि निगरानीका लागि पी–८ पोसेडन विमान प्रयोग गर्न सकिन्छ ।