काठमाडौं — ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शिताको सवालमा कतै पनि सम्झौता नगरेको स्पष्ट गर्नुभएको छ। सिंहदरबारमा आयोजित एक सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले सुशासन र पारदर्शितालाई कठोर रूपमा लागू गर्दै आएको बताउनुभयो।

मन्त्री घिसिङका अनुसार सबै मन्त्रीहरूले साढे दुई महिनाभित्र सम्पत्ति विवरण बुझाइसकेका छन्। उक्त विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भएको उहाँले स्पष्ट पार्नुभयो। “हामीले विगत ३० वर्षदेखि कर्मचारीका रूपमा नियमित सम्पत्ति विवरण पेश गर्दै आएका छौँ। मन्त्री बनेपछि पनि नियमअनुसार साढे दुई महिनाभित्र सबैले विवरण बुझाएका छन्,” उहाँले भन्नुभयो।

उहाँले जेन–जी आन्दोलनबाट आएको सरकारले सुशासनको विषयमा कुनै पनि प्रकारको समझौता नगर्ने दोहोर्याउँदै जहाँ समस्या देखिएको छ, त्यहाँ कारबाही गरिएको र आवश्यक परे थप कारबाही गरिने बताउनुभयो।

मन्त्री घिसिङले आफू राजनीतिबाट पछि नहट्ने पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार आगामी निर्वाचनमा नयाँ शक्तिहरू एक भएर जाने विषयमा सहमति भइसकेको छ। “अहिलेको सरकार चुनाव गराउने जिम्मेवारीसहित अघि बढेको सरकार हो। चुनावमा जाने बेला उपयुक्त निर्णय लिनेछौँ र परिवर्तनलाई संस्थागत गर्न सबै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

एक सय दिने उपलब्धिअन्तर्गत मन्त्री घिसिङले बञ्चरेडाँडामा फोहोर विसर्जन अवरुद्ध हुँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान, मेलम्ची खानेपानी आयोजनाका अवरोध हटाएर काठमाडौंमा पानी आपूर्ति सहज बनाएको, तातोपानी–कोदारी सडक खुलाएर चीनसँगको नाका पुनः सञ्चालन, तथा मनसुनबाट क्षति पुगेको बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ भने अपर अरुण जलविद्युत आयोजनाको वित्तीय ढाँचा पनि तयार भएको छ। साथै भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरिएको, कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबरको ऋण सम्झौता प्रक्रिया अघि बढाइएको र ४० वटा रुग्ण ठेक्का तोडिएको पनि उपलब्धिमा समावेश गरिएको छ।

मन्त्री घिसिङले परिवर्तनलाई संस्थागत गर्दै आगामी निर्वाचनबाट सक्षम र जिम्मेवार नयाँ नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई एकताबद्ध गरेर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।