काठमाडौं — पर्यटन प्रवर्द्धन तथा साहसिक पर्यटनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिशुली नदीमा युवाहरूलाई रिभर गाइड (र्याफ्टिङ) सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो।
नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाइड नेपालका लागि अत्यावश्यक मानवीय स्रोत भएको उल्लेख गर्दै यस चरणमा ७० जनालाई तालिम दिन लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार नाथमले हालसम्म १ हजार २ सय ३८ जना रिभर गाइड उत्पादन गरिसकेको छ र तालिम प्राप्त व्यक्तिहरूले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत रोजगारीको अवसर पाउन सक्छन्।
नाथमका प्रशासन विभाग प्रमुख ज्ञानराज पण्डितले सैद्धान्तिक कक्षा नाथममा सञ्चालन गरिएको र प्रयोगात्मक परीक्षा त्रिशुली नदीमा लिइएको जानकारी दिनुभयो। प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले आधिकारिक लाइसेन्स प्राप्त गर्ने उहाँले बताउनुभयो।
नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्ष शुक्र लामाले रिभर गाइडको माग स्वदेश तथा विदेश दुवै स्थानमा उच्च रहेकाले उत्पादन जति गरे पनि अभाव हुने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षमा कम्तीमा दुई पटक तालिम सञ्चालन गर्न सकिए माग पूर्ति गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।
हिमालयन रिभर र्याफ्टिङ एशोसिएशन नेपालका पूर्वअध्यक्ष मानध्वज गुरुङले र्याफ्टिङलाई जोखिमपूर्ण साहसिक खेलका रूपमा उल्लेख गर्दै पर्यटकको सुरक्षाका लागि गाइडहरूलाई रेस्क्यु, सुरक्षा र प्राथमिक उपचारसम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार हालको तालिम लाइसेन्स केन्द्रित भए पनि रेस्क्यु, फर्स्ट एड र सीपीआर जस्ता तालिम छुट्टै रूपमा सञ्चालन गरिन्छ। पछिल्लो समय र्याफ्टिङ गाइडको माग बढ्दै गएको भए पनि जलविद्युत आयोजना निर्माणका कारण ठूला नदीमा र्याफ्टिङ सञ्चालनमा समस्या देखिन थालेको उहाँले गुनासो गर्नुभयो।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले लाइसेन्स प्राप्त गर्ने, सीप अभिवृद्धि गर्ने र भविष्यमा स्वदेश तथा विदेशमा रोजगारी गर्ने लक्ष्यका साथ तालिम लिइरहेका बताएका छन्। तालिमका क्रममा डोरी व्यवस्थापन, नदी पार गर्ने तरिका, पर्यटक उद्धार, रेस्क्यु प्रविधि, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको छ।
१५ दिने उक्त तालिम बिहीवारसम्म सञ्चालन हुनेछ।
