काठमाडौं। सुनसरीमा भएको घटनापछि प्रमुख राजनीतिक दलहरूले संयुक्त अपिल जारी गर्दै देशभर पारस्परिक भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई आग्रह गरेका छन्। दलहरूले आवेग, उत्तेजना र अफवाहमा नलागी शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन्।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जनता समाजवादी पार्टी नेपालका नेता प्रकाश अधिकारीलगायत सहभागी थिए।

बैठकले पछिल्ला घटनाक्रममा ज्यान गुमाएका सबैप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

संयुक्त अपिलमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै समाजमा लामो समयदेखि कायम रहेको पारस्परिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि तथा उत्तेजनामा नआउन सबै नागरिकलाई आग्रह गरिएको छ। दलहरूले आवेग र मुठभेडले समस्याको समाधान नगर्ने, बरु थप जटिलता निम्त्याउने भएकाले सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिएका छन्।

बैठकले लोकतान्त्रिक प्रणालीमा कुनै पनि असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ।

सामाजिक सद्भाव कायम राख्न केन्द्र सरकारको प्रयास मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आह्वान गरेको छ। साथै स्थानीय तहसम्म संवाद विस्तार गरी नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न सबै राजनीतिक दलका मातहतका समितिहरूलाई निर्देशन दिने निर्णय पनि गरिएको छ। धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।

दलहरूले यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्।

संयुक्त अपिलमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भन्दै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

दलहरूले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

संयुक्त वक्तव्यमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षा गर्न आफूहरू एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी तथा शान्तिपूर्ण समाधानका लागि सरकार र समाजसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।