काठमाडौं। सरकारले विभिन्न नौ विधयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री कार्यलयमा बसेको मन्त्रिपरिषद् बैठकले विधयक संसमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकपछि जानकारी दिए ।
मन्त्री पौडेलका अनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त तथा सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। त्यसैगरी खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन विधेयक तथा निजामती कर्मचारीसम्बन्धी ऐन, २०१९ संशोधन विधेयकलाई पनि संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० छैटौं संशोधन नियमावली, २०८३ पनि स्वीकृत गरेको पनि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
