अकल्याण्ड। न्युजिल्याण्डका विश्वविद्यालय समुदायले क्याम्पसमा हुने बुलिङ, उत्पीडन तथा यौन हिंसा रोक्न र यस्ता घटनाको प्रभावकारी व्यवस्थापन गर्न संस्थाहरूले थप सुधार गर्नुपर्ने माग गरेका छन्।
विद्यार्थी प्रतिनिधि तथा कर्मचारीहरूले हाल विश्वविद्यालयहरूले अपनाइरहेका प्रक्रिया पर्याप्त प्रभावकारी नभएको बताएका छन्। उनीहरूले विद्यार्थीको सुरक्षा, उजुरी व्यवस्थापन र संस्थागत जवाफदेहितामा सुधार आवश्यक रहेको बताएका छन्।
अकल्याण्ड विश्वविद्यालयको यौन हिंसा अन्त्य अभियानकी सह–अध्यक्ष थियाना सिंहले पछिल्ला वर्षहरूमा केही सुधार भए पनि आधारभूत समस्या अझै समाधान हुन नसकेको बताइन्।
उनले कहिलेकाहीँ सुधार भइरहेको अनुभूति भए पनि पुनः नयाँ घटना सार्वजनिक हुँदा विश्वविद्यालयहरू वास्तवमै सही दिशामा अघि बढिरहेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने बताइन्।
यौन हिंसा अन्त्य गर्ने उद्देश्यले सञ्चालन गरिएको विद्यार्थी नेतृत्वको अभियानले सन् २०१७ मा देशभरका उच्च शिक्षा संस्थाका विद्यार्थीबीच सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणले न्युजिल्याण्डका विश्वविद्यालयहरूमा यौन हिंसाको अवस्था व्यापक रहेको देखाएको थियो।
गत वर्ष अकल्याण्ड विश्वविद्यालयको उक्त अभियानको शाखाले पुनः गरेको सर्वेक्षणले मुख्य समस्याहरू अझै समाधान हुन नसकेको निष्कर्ष निकालेको थियो।
अकल्याण्डका विभिन्न उच्च शिक्षा संस्थाका १२० जना विद्यार्थीबाट संकलित प्रतिक्रियामा सहमति सम्बन्धी अपर्याप्त शिक्षा, जटिल उजुरी प्रक्रिया, उजुरीलाई बेवास्ता गर्ने प्रवृत्ति र संस्थाभित्र जवाफदेहिताको कमीबारे गुनासा आएका थिए।
सिंहले विद्यार्थीहरूले विश्वविद्यालयबाट सुरक्षित वातावरण र आफ्ना अनुभव तथा गुनासालाई गम्भीर रूपमा लिने प्रणाली चाहेको बताइन्।
उनले यौन हिंसा अन्त्य गर्न सबैको सहभागिता आवश्यक रहेको भन्दै विद्यार्थीले आफ्ना अनुभव सार्वजनिक गर्दा उनीहरूलाई विश्वास गर्ने र आवश्यक कदम चाल्ने वातावरण बनाउनुपर्ने बताइन्।
उनका अनुसार विश्वविद्यालयहरूले सहमति सम्बन्धी शिक्षा सुधार गर्नुपर्ने, उजुरी प्रक्रिया स्पष्ट र सहज बनाउनुपर्ने तथा यस्ता घटनामा जिम्मेवारी निर्धारण गर्ने प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता छ।
यौन उत्पीडन रोकथामका लागि काम गर्दै आएको अर्को समूहले पनि विश्वविद्यालयहरूमा सुधारको माग गर्दै आएको छ।
सन् २०२० मा यौन उत्पीडन अन्त्यका लागि काम गर्ने समूहले न्युजिल्याण्डका विश्वविद्यालयहरूको प्रतिनिधि निकायलाई खुला पत्र पठाउँदै यौन उत्पीडनसम्बन्धी उजुरी व्यवस्थापनमा सुधार गर्न आग्रह गरेको थियो।
उक्त पत्रमा गोपनीयता सम्झौताको प्रयोगबारे समीक्षा गर्नुपर्ने, यौन उत्पीडनका उजुरीमा स्वतन्त्र अनुसन्धानको व्यवस्था गर्नुपर्ने र रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको थियो।
भौतिकशास्त्रकी प्राध्यापक निकोला ग्यास्टनले पछिल्ला वर्षहरूमा यस क्षेत्रमा अपेक्षित परिवर्तन हुन नसकेको बताइन्।
उनले उत्पीडनको अनुभव गरेका व्यक्तिहरूका लागि आफ्ना कुरा सार्वजनिक गर्न अझ कठिन वातावरण बनेको बताउँदै यो समस्या न्युजिल्याण्डमा मात्र नभई विश्वभरका विश्वविद्यालयहरूमा रहेको उल्लेख गरिन्।
ग्यास्टनका अनुसार विश्वविद्यालयहरूले यस्ता विषयलाई केवल रोजगारसम्बन्धी विवादका रूपमा नभई स्वास्थ्य र सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक छ।
उनले उत्पीडन गर्ने व्यक्ति दोहोरिने सम्भावना हुने भन्दै उजुरी सही रूपमा व्यवस्थापन नगर्दा अन्य विद्यार्थी तथा कर्मचारीको सुरक्षामा समेत असर पर्न सक्ने बताइन्।
अकल्याण्ड विश्वविद्यालयका भौतिकशास्त्र प्राध्यापक रिचर्ड इस्थरले शैक्षिक क्षेत्रमा हुने शक्ति असन्तुलन र अनुसन्धान क्षेत्रको विशेष प्रकृतिका कारण पीडितहरूका लागि समस्या अझ जटिल हुने बताए।
उनले अन्य क्षेत्रमा काम गर्ने व्यक्तिले रोजगारी परिवर्तन गर्न सक्ने भए पनि धेरै शैक्षिक क्षेत्रमा अनुसन्धानकर्ता तथा प्राध्यापकहरूका लागि विकल्प सीमित हुने बताए।
सन् २०१७ मा अमेरिकाको वैज्ञानिक संस्थाले वैज्ञानिक दुर्व्यवहारको परिभाषामा उत्पीडन, दुर्व्यवहार र विभेदलाई समेत समावेश गरेको थियो।
प्राध्यापक इस्थरले यौन उत्पीडनले विशेषगरी युवा अनुसन्धानकर्ताको करियरमा गम्भीर असर पार्न सक्ने बताए। उनले यस्तो समस्याले विज्ञान क्षेत्रमा महिलाहरूको सहभागितामा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
उनले विश्वविद्यालयका नेतृत्व तहमा रहेका व्यक्तिहरूले सुरक्षित र सम्मानजनक वातावरण निर्माण गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताए। यस विषयमा न्युजिल्याण्डका विश्वविद्यालयहरूको प्रतिनिधि निकायले भने समाचार प्रकाशन हुँदासम्म कुनै प्रतिक्रिया दिएको छैन। समाचार स्रोत: आरएनजेड
