मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले रास्वपामा विचार र सिद्धान्तको अभाव रहेको दाबी गरे। उनका अनुसार वैचारिक खडेरीका कारण उक्त पार्टी निर्वाचनका बेला सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नमै सीमित भएको छ।

“घण्टी बजाएर मात्रै केही हुनेवाला छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी छ। सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ,” प्रचण्डले भने, “यसलाई हामी सबै एकताबद्ध भएर मात्र पार गर्न सक्छौँ।”

प्रचण्डले मुलुक र जनताको हितका लागि सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले बाँकी रहेका युवा तथा पुराना कम्युनिस्ट कार्यकर्तालाई समेत एकतामा आउन आह्वान गर्दै समाजवादी लक्ष्यसहित अगाडि बढ्नुपर्ने बताए।

“सबै युवा र पुराना कमरेडहरूले सोच्नुपर्छ—हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौँ। त्यसले मात्र देश र जनताको वास्तविक सेवा गर्न सक्छ,” प्रचण्डले भने।