न्युजिल्यान्डमा रहेका नेपाली समुदायभित्र पहिलो नम्बरमा पर्ने तेन्जिङ हिलारी कप (टीएचसी) २०२६ को ११औँ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजक समितिले हिमालपारीलाई दिएको जानकारीअनुसार सामान्य केही कामबाहेक प्रतियोगिताका अधिकांश तयारी पूरा भइसकेका छन्। प्रतियोगिता आगामी फेब्रुअरी ७ र ८ तारिखमा अकल्याण्डको टेआटाटु साउथस्थित म्याक्लियोड पार्कमा आयोजना हुँदैछ।

फुटबल क्लब खुकुरी इन्क. र तेन्जिङ हिलारी कप समितिको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा सामान्य कामबाहेक सबै तयारी पूरा भएको आयोजक क्लब खुकुरीका अध्यक्ष अमित सापकोटाले जानकारी दिनुभयो। “केही प्राविधिक तयारी र जिम्मेवारी बाँडफाँडबाहेक सबै तयारी पूरा भएका छन्,” उहाँले भन्नुभयो, “तर यो निकै ठूलो प्रतियोगिता भएकाले समेट्नुपर्ने कामहरू धेरै छन्, हामी त्यसमा व्यस्त छौँ।”

प्रतियोगिताका संयोजक सुसान्त लामाले तेन्जिङ हिलारी कप फुटबल मात्र नभई समुदायलाई एकताबद्ध गर्ने अभियानसमेत भएकाले गर्नुपर्ने काम धेरै भए पनि आयोजनाको अधिकांश तयारी पूरा भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो प्रतियोगिताले हाम्रो समुदायलाई एक ठाउँमा ल्याउने, विभिन्न क्षेत्रबीचको सम्बन्ध मजबुत बनाउने तथा परिवार, युवा र ज्येष्ठ नागरिकलाई खेलमार्फत जोड्ने अवसर प्रदान गर्छ। त्यसका लागि केही कामहरू बाँकी छन्।”

टीएचसी समितिका सदस्य नितेश लिङ्खा राईले कार्यक्रम तयारीको अन्तिम चरणमा पुगिएको र अतिथिहरूलाई आमन्त्रण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रतियोगितालाई शान्त र भव्य बनाउन हामी लागिरहेका छौँ।”

उहाँका अनुसार प्रतियोगितामा न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीभाषीहरूले स्थापना गरेका १८ वटा फुटबल टिमको सहभागिता रहनेछ। जसअन्तर्गत १२ ओपन लिग टिम, ३ मास्टर्स टिम र ३ किड्स टिम समावेश छन्। दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा करिब १,५०० खेलाडी, पदाधिकारी तथा समर्थकको सहभागिता रहने अनुमान गरिएको छ।

सन् २०१५ मा सुरु भएको तेन्जिङ हिलारी कप विश्वप्रसिद्ध पर्वतारोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको अद्वितीय साहसलाई सम्मान गर्दै स्थापना गरिएको हो। हाल यो प्रतियोगिता न्युजिल्यान्डमा रहेका नेपाली तथा नेपालीभाषी समुदायबीचको प्रमुख फुटबल प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ।

आयोजक समितिले टीएचसी २०२६ अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य हुने अपेक्षा गरेको छ। खेलकुदसँगै तेन्जिङ हिलारी कप २०२६ मा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम, स्थानीय खाना तथा व्यवसायिक स्टलहरू पनि रहनेछन्। यसले साना व्यवसायको प्रवर्द्धन गर्दै समुदायमाझ उत्सवमय वातावरण सिर्जना गर्ने आयोजकको लक्ष्य रहेको छ। खेल र संस्कृतिको संयोजनमार्फत सम्पूर्ण परिवारका लागि रमाइलो र अर्थपूर्ण अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ।

प्रतियोगितामा सहभागी हुने टिमहरूको विवरण:

1. Gorkhali FC (Hamilton)

2. Himalayan FC (Hamilton)

3. Khukuri FC White (Auckland)

4. Khukuri FC Red (Auckland)

5. Gurkha FC (Auckland)

6. MT 8848 FC (Auckland)

7. Nepal United FC (Christchurch)

8. Lhotshampa FC (Christchurch)

9. Southern Dragon FC (Christchurch)

10. Nepalese Warriors (Bay of Plenty)

11. Simrik FC (Queenstown)

12. Himalayan Normads (Palmerston North)

Masters:

1. Khukuri FC (Auckland)

2. Nepal United FC (Christchurch)

3. Himalayan Veteran (Bay of Plenty)

Kids:

1. Khukuri FC (Auckland)

2. Gorkhali FC ( Hamilton)

3. Nepalese Association in Bay of Plenty (BOP)