वर्तमान सरकारले सत्ता सम्हालेको पहिलो १०० दिनमा सन्तुलित परराष्ट्र नीति, आर्थिक कूटनीति र छिमेकी राष्ट्रसँगको सम्बन्ध सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। सरकारले भारत र चीनसँग उच्चस्तरीय संवादलाई निरन्तरता दिँदै आर्थिक सहकार्य, लगानी, व्यापार तथा पूर्वाधार विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रयासलाई तीव्र बनाएको दाबी गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार नेपालको परराष्ट्र नीति संविधान, राष्ट्रिय हित, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा सरकारको सयबुँदे कार्ययोजनाअनुसार अघि बढाइएको छ। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्दै सबै मित्रराष्ट्र र विकास साझेदारसँग आपसी हितका आधारमा सहकार्य विस्तार गर्ने सरकारको नीति रहेको बताए।

सरकार गठनपछि परराष्ट्रमन्त्री खनालले भारत र चीनको औपचारिक भ्रमण गरेका थिए। भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, लगानी, सीमा व्यवस्थापन, कनेक्टिभिटी र पूर्वाधार विकासका विषयमा परिणाममुखी छलफल भएको जनाइएको छ। दुई देशबीचका द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय बनाउने तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि सहमति भएको सरकारको भनाइ छ।

त्यसपछि भएको चीन भ्रमणका क्रममा पूर्वाधार विकास, लगानी, पर्यटन, कृषि, प्रविधि तथा व्यापार विस्तारका विषयमा उच्चस्तरीय छलफल भएको मन्त्रालयले जनाएको छ। चीनले बेल्ट एन्ड रोड सहकार्य, विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका तथा हवाई सम्पर्क विस्तारमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले विदेशस्थित नेपाली नियोगमार्फत लगानी आकर्षित गर्ने, प्रवासी नेपालीको ज्ञान, सीप र लगानीलाई उपयोग गर्ने तथा विदेशी लगानी प्रवर्द्धनका लागि ‘कन्ट्री स्पेसिफिक स्ट्राटेजी’ तयार गर्ने कार्य पनि अघि बढाएको जनाएको छ।

कन्सुलर सेवालाई सहज बनाउन ‘मोफा मित्र’ नामक अनलाइन एप सञ्चालनमा ल्याइएको छ भने विदेशमा रहेका नेपालीको सुरक्षा, उद्धार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यलाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

सरकारले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनका लागि सार्वजनिक कूटनीति र ‘सफ्ट पावर’ को प्रयोगलाई पनि जोड दिएको छ। संस्कृति, सम्पदा, पर्यटन, लुम्बिनी, अन्तर्राष्ट्रिय आरोग्य दिवस तथा नेपाल डायस्पोरा ग्लोबल नेटवर्कजस्ता कार्यक्रममार्फत नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्ने प्रयास भइरहेको सरकारको दाबी छ।

परराष्ट्रमन्त्री खनालले बदलिँदो विश्व शक्ति सन्तुलनलाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सन्तुलित कूटनीति, आर्थिक सहकार्य र विकास साझेदारीमा केन्द्रित रहने बताएका छन्। सरकारले छिमेकी राष्ट्रसँगको विश्वासको वातावरणलाई अझ मजबुत बनाउँदै बहुपक्षीय सहकार्य र आर्थिक समृद्धिका लागि कूटनीतिक पहललाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।