ब्रसेल्स/बेल्जियम । किरात राई सोसाइटी बेल्जियमले किरात समुदायको मौलिक पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाएको छ। बेल्जियमको लुभेनमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशबाट आएका नेपाली समुदायका प्रतिनिधि, विभिन्न जातीय संस्थाका अगुवा तथा स्थानीय सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले भिडियो सन्देशमार्फत प्रवासमा रहेर नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन गर्न समुदायले गरेको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले साकेला पर्वले प्रकृति, समुदाय र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै यस्ता पर्वहरूले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

लुभेन नगरकी उपमेयर लोथे रामाकर्सले नेपाली समुदायको सांस्कृतिक विविधताप्रति खुशी व्यक्त गर्दै नेपालको मौलिक संस्कृति विश्वकै साझा सम्पत्ति भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी सम्मान, सहिष्णुता र मित्रता अभिवृद्धि गर्ने धारणा राख्नुभयो।

त्यस्तै, स्टाड लुभेनका उपमेयर दिर्क भेन्सिनाले बहुसांस्कृतिक समाज निर्माणमा नेपाली समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक गतिविधिलाई सधैं समर्थन रहने बताउनुभयो। कार्यक्रममा लुभेन महानगर परिषद्का सदस्य तथा नेपाली मूलबाट निर्वाचित प्रतिनिधि सूर्य ढकालले नेपाली समुदायको विविधता नै यसको शक्ति र पहिचान भएको उल्लेख गर्दै साकेला पर्वको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा आदिवासी जनजाति महासंघ बेल्जियम, गैरआवासीय नेपाली संघ, तथा युरोपका विभिन्न देशस्थित किरात तथा नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले साकेला पर्वको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे धारणा राखेका थिए।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष कमस पन्थीले किरात सभ्यता विश्वकै प्राचीन सभ्यतामध्ये एक रहेको उल्लेख गर्दै यसको संरक्षण र अध्ययनमा थप ध्यान दिनुपर्ने बताउनुभयो। जर्मनी राई सोसाइटीका अध्यक्ष निनाम्मा राईले साकेला केवल पर्व नभई किरात समुदायको आत्मा र पहिचान भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा साकेला सिली नृत्य, पारम्परिक भेषभूषा, जातीय संगीत तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। विशेष आकर्षणका रूपमा स्थानीय बेल्जियन अतिथिहरूले समेत नेपाली समुदायसँगै साकेला नृत्यमा सहभागिता जनाएका थिए।

किरात समुदायले खेतीपातीको सुरुआतसँगै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै मनाउने उभौली साकेला पर्वले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकको विश्वास छ।

कार्यक्रमको समापनमा किरात राई सोसाइटी बेल्जियमकी अध्यक्ष इन्दिरा चाम्लिङले सहभागी सम्पूर्ण अतिथि तथा समुदायप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक र भव्य रूपमा साकेला पर्व मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।