काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल आज मध्यरातदेखि औपचारिक रूपमा समाप्त हुने भएको छ । कार्यकाल सकिएसँगै दुवै आजै पदबाट बिदा हुने भएका छन् ।
सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले सरकारी निवास छोड्ने तयारीसमेत गरिसकेका छन् । प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा जवाफ दिनुपर्ने सम्भावना रहेको र प्रक्रियागत जटिलता टार्न सार्वजनिक घोषणा नगरी बिदा हुने निर्णय गरिएको उनले जानकारी दिए ।
संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहन सक्ने व्यवस्था छ ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएको छ । सो निर्वाचनका लागि आज र भोलि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस हुँदैछ । यसैअनुसार सभामुख र उपसभामुखको कार्यकाल आज राति १२ बजेदेखि समाप्त हुने भएको हो ।
