काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब साढे तीन घण्टा चलेको छलफलमा उनले शैक्षिक क्षेत्रमा राजनीति कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस र विद्यालयजस्ता संवेदनशील स्थानहरूमा कुनै पनि राजनीतिक प्रभाव, झण्डा वा संगठन राख्न नदिइने बताउँदै राजनीति गर्न चाहनेहरूले पेशागत जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखे । छलफलमा केही उपकुलपतिहरूले राजनीतिक दबाब र असुरक्षाको गुनासो गरेपछि उनले आवश्यक परे सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, प्रधानमन्त्रीले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न र परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले पनि दलीय संरचना हटाउन कानुनी बाधा नरहेको स्पष्ट पारे ।

विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले केही स्थानमा अझै राजनीतिक प्रभाव बाँकी रहेको बताए पनि कडा प्रशासनिक कदमले शैक्षिक क्षेत्र सुधार हुने विश्वास व्यक्त गरेका छन् ।