काठमाडौं । बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएसँगै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आएका छन् । उनी नयाँ सरकारपछि नेपाल आउने पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन् ।
सोमबार बिहान काठमाडौं आइपुगेका कपुरले रास्वपाका सभापति रवि लामिछानेसँग भेट गर्दै नेपाल–अमेरिका सहकार्यका विषयमा छलफल गरेका छन् । सोमबार बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका कपुरले पहिलो भेट नै सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग गरेका छन् ।
भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन् । ‘काठमाडौंमासँग भेट्न पाउँदा खुशी लाग्यो । नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका–नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो’ उनले भनेका छन् । सहकार्यका कस्ता र के के क्षेत्रहरूमा छलफल भएको हो त्यो दुवै पक्षले खुलाएका छैनन् ।
साथै उनले अमेरिकी उद्योगीहरूसँग आईसीटी क्षेत्रमा लगानी र सहकार्य विस्तारबारे पनि कुराकानी गरेका छन् । तीन दिने भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
