शहीद परिवारप्रति प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मधेस सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आए पनि यस वर्ष त्यससम्बन्धी कुनै तयारी नगरिएको तथा मधेसका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत रोकिएको उनीहरूको आरोप छ।

मधेसी शहीद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलन गर्दै आगामी शनिवारसम्म आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनमा उत्रिने घोषणा गरेका हुन्। शहीद परिवारको अपमान गर्ने उद्देश्यले सरकारले प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको अनुभूति भएको उनीहरूको भनाइ छ।

प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरू प्रतिष्ठानमा आबद्ध भएको सात–आठ महिना बितिसक्दा पनि तलब नपाएको गुनासो गर्नुभयो। गृह, सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि उचित व्यवस्थापन नगरी कार्यालय खाली गर्न दबाब दिइएको उहाँको आरोप छ।

यादवका अनुसार प्रतिष्ठानसम्बन्धी ऐन बनेको महिनौँ बितिसक्दा पनि मन्त्रिपरिषद्बाट स्वीकृत गराई प्रदेश सभामा पेश गर्ने प्रक्रिया सरकारले अघि नबढाएको छ।