वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना पछिल्लो समय चिन्ताजनक रूपमा बढ्दै गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ६ हजार ८५० वटा उजुरी दर्ता भएका छन्। विदेश जाने आशामा धेरै युवा आफन्त, चिनेजानेका व्यक्ति तथा वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी र एजुकेसन कन्सल्टेन्सीमार्फत ठगीमा पर्ने गरेका छन्। विभागका अनुसार ठगीमा पर्ने सबै घटनाको विवरण भने उजुरीका रूपमा नआउने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै उजुरी मुद्दा तथा अनुसन्धान शाखामा दर्ता भएका छन्। सो शाखामा दुई हजार ९८७ वटा उजुरी परेको विभागले जनाएको छ। तीमध्ये २९५ वटा उजुरी मिलापत्रमार्फत टुङ्ग्याइएका छन् भने १९६ वटा मुद्दा अदालतमा दायर गरिएको छ।
मिलापत्र प्रक्रियामार्फत पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १२ करोड १८ लाख ५३ हजार ५०४ रुपैयाँ भराइएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त शाखामा दर्ता भएका उजुरीमध्ये हाल चार हजार ९३७ वटा उजुरीको छानबिन भइरहेको छ।
विभागअन्तर्गत रहेको प्रहरी शाखामा पनि तीन हजार ९८६ उजुरी दर्ता भएका छन्। तीमध्ये दुई हजार ७७५ उजुरी फस्र्योट भइसकेका छन् भने ४२१ उजुरी अझै बाँकी छन्। यस प्रक्रियामार्फत चार लाख चार हजार पाँच सय रुपैयाँ बराबरको क्षतिपूर्ति दिलाइएको विभागले जनाएको छ।
त्यसैगरी उद्धार, राहत तथा समन्वय शाखामा ६६७ उजुरी परेकोमा ३७६ उजुरी फस्र्योट गरिएको छ। तीमध्ये २३७ उजुरीमार्फत चार करोड चार लाख ८४ हजार ६५० रुपैयाँ बराबरको क्षतिपूर्ति पीडितलाई दिलाइएको छ। यस शाखाले सो अवधिमा ३७६ जनाबीच आपसी सहमति गराएको छ भने विदेशमा समस्यामा परेका १५९ नेपालीलाई विभिन्न देशबाट उद्धार गरेको छ।
उपमहानिर्देशक शिवाकोटीका अनुसार वैदेशिक रोजगारीसम्बन्धी उजुरीमध्ये अधिकांश व्यक्तिगत प्रकृतिका हुने भएकाले दोषी पहिचान गर्न र छानबिन टुङ्ग्याउन समय लाग्ने गरेको छ। संस्थागत उजुरीमा कारबाही गर्न अपेक्षाकृत सहज हुने भए पनि व्यक्तिगत रूपमा हुने ठगीमा अनुसन्धान जटिल हुने गरेको उहाँले बताउनुभयो।
विभागका अनुसार पछिल्लो समय खाडी मुलुक वा मलेसिया भन्दा पनि अमेरिका, क्यानडा, पोर्चुगाल, पोल्यान्डजस्ता देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने घटनाका उजुरी बढिरहेका छन्। यस्तो प्रकृतिका उजुरीमा प्रमाण पुगेको अवस्थामा मात्र कारबाही र क्षतिपूर्ति दिलाउने गरिएको विभागले जनाएको छ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीसम्बन्धी १२ हजार ७९० उजुरी दर्ता भएका थिए। त्यस्तै २०८०/८१ मा सात हजार ७६३ र २०७९/८० मा तीन हजार ३५६ उजुरी परेका थिए। यी तथ्याङ्कले पछिल्ला वर्षहरूमा उजुरीको संख्या तीव्र रूपमा बढ्दै गएको देखाउँछ।
गत आर्थिक वर्ष २०८१/८२ मा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या आठ लाख ३९ हजार पुगेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गइसकेका छन्।
विभागका अनुसार धेरै युवा सरकारले तोकेको भन्दा बढी रकम तिरेर विदेश जाने र विदेश पुगेपछि समस्या परेपछि मात्र उजुरी गर्न आउने गरेका छन्। विशेष गरी युरोप, अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै व्यक्तिगत रूपमा हुने ठगीमा पढेलेखेका व्यक्ति पनि ठूलो रकम गुमाएर पीडित बन्ने गरेका छन्।
