काठमाडौं । नेपाल आउने विदेशी नागरिकलाई अनिवार्य निगरानीमा राख्ने उद्देश्यले सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली पुस १७ गते (जनवरी १, २०२६) देखि कार्यान्वयनमा ल्याउने भएको छ । पाँच वर्षदेखि तयारीमा रहेको यो प्रणाली हालसम्म अन्योलमा थियो ।
प्रणाली लागू भएपछि विदेशी नागरिक को, कहाँ र कति समय बस्छन् भन्ने तथ्य अभिलेख हुने, जसले राष्ट्रिय सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, अनुसन्धान तथा पर्यटन व्यवस्थापनमा सहयोग पुग्ने विभागले जनाएको छ । हाल भुटानी र रोहिङ्ग्या शरणार्थीबाहेक आठ हजारभन्दा बढी विदेशी नागरिक भिसा अवधि सकिएपछि पनि अनधिकृत रूपमा नेपालमा बसिरहेको तथ्य सार्वजनिक गरिएको छ ।
पहिलो चरणमा उपत्यकाका तारे होटलबाट प्रणाली लागू गरिनेछ भने दोस्रो चरणमा देशभरका होटल, विमान कम्पनी, ट्राभल एजेन्सी, मनी एक्सचेन्जरलगायत विदेशी नागरिकलाई सेवा दिने सबै निकायलाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध गराइनेछ । हालसम्म करिब २५ निकाय प्रणालीमा जोडिएका छन् ।
सरकारले यसलाई राष्ट्रिय सुरक्षा, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
