काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले रुवाण्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीबाट जितसहित फर्कने विश्वास व्यक्त गरेकी छन् ।

क्यानद्वारा आयोजित बिदाइ कार्यक्रममा उनले टोलीको तयारी राम्रो भएको र विशेषगरी फिल्डिङमा सुधार आएको बताइन् । प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणपछि टोलीमा सकारात्मक परिवर्तन देखिएको पनि उनले उल्लेख गरिन् ।

प्रतियोगिता अप्रिल १३ देखि सुरु हुँदैछ, जसमा नेपालसहित रुवाण्डा, अमेरिका, इटाली र भानुआटुले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल अमेरिकासँग अप्रिल १८ मा खेल्नेछ । १४ सदस्यीय नेपाली टोली यस प्रतियोगितामा राम्रो नतिजा ल्याउने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ ।