पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्था, कुशासन र अवसरवादविरुद्ध आवाज उठाउँदै संगठित रूपमा उदाएका तीन नयाँ राजनीतिक शक्ति अन्ततः एकै ठाउँमा आएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीबीच पार्टी एकताको औपचारिक प्रक्रिया टुंगिएको हो ।

बालेन शाहको समूह र रास्वपाबीच एकता घोषणा भएको भोलिपल्ट सोमबार उज्यालो नेपाल पार्टी पनि यही धारमा जोडिएपछि वैकल्पिक राजनीतिक शक्तिहरूको बिखण्डित आवाज लगभग एकीकृत भएको छ । यसअघि विवेकशील साझा पार्टी रास्वपामा विलय भइसकेको थियो भने जेन–जी आन्दोलनका केही अगुवाहरू पनि क्रमशः यही धारमा समाहित भइसकेका थिए ।

जेन–जी आन्दोलनको दबाब र एकताको आधार

जेन–जी आन्दोलनमार्फत भ्रष्टाचार र कुशासनविरुद्ध सडकमा उत्रिएका युवाहरूले वैकल्पिक शक्तिहरू चुनावमा एक भएर जानुपर्ने दबाब दिँदै आएका थिए । राजनीतिक, नैतिक र भौतिक समर्थन तीनवटा संगठित समूहमा केन्द्रित देखिएपछि उनीहरूबीच एकता अपरिहार्य बन्दै गएको थियो ।

यही पृष्ठभूमिमा भएको एकताले पार्टीभित्र शक्ति सन्तुलन र संरचनात्मक सहमति पनि तय गरेको छ । सहमतिअनुसार पार्टी सभापति रवि लामिछाने रहनेछन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ भने उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पहिलो दर्जाको उपसभापति रहनेछन् । उनीहरूको साझा उद्देश्य कुशासनविरुद्ध उभिनु र योग्यता प्रणालीलाई राजनीतिक अभ्यासमा स्थापित गर्नु रहेको बताइएको छ ।

अन्तिम घडीसम्मको संवाद

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदा नै बालेन र कुलमानबीच सहकार्यको संकेत देखिएको थियो । त्यसपछि पनि कुलमानले समानान्तर रूपमा रास्वपासँग संवाद जारी राख्दै पार्टीस्तरमै वार्ता समिति गठन गरेर छलफल अघि बढाएका थिए । रवि–बालेन एकता घोषणापछि पनि संवाद रोकिएन । आइतबार रातीसम्म तीनै नेताबीच छलफल चलेको थियो, तर तत्काल निष्कर्ष ननिस्किएपछि दुवै पक्ष आ–आफ्नो समानुपातिक सूची तयारीमा जुटेका थिए ।

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाइसकेको थियो भने रास्वपा पनि केन्द्रीय समिति बैठकमा व्यस्त थियो । यहीबीच अन्तिम घडीमा कुलमान पुनः संवादमा फर्किए । बौद्धस्थित अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको बैठक चलिरहेकै बेला जेन–जी अगुवाहरूको पहलमा उनलाई वार्तास्थल पुर्‍याइएको थियो ।

जेन–जी अगुवा ओजस्वी थापाका अनुसार, “मिल्नैपर्छ भन्ने दबाब सबै पक्षलाई दिइयो । हामी स्वयं गएर उहाँलाई अनुरोध गर्‍यौँ र वार्तास्थलसम्म ल्यायौँ ।” उज्यालो नेपाल पार्टीभित्र भने रास्वपाले आफूहरूलाई कमजोर ठानेको निष्कर्षसमेत निकालिएको थियो । तर अन्ततः राजनीतिक यथार्थ र चुनावी आवश्यकता दुवै पक्षलाई नजिक ल्यायो ।

सात बुँदे सहमति र आगामी चुनाव

अन्तिम सहमतिसँगै कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएका छन् । यसअघि आएको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरेका कुलमानले यसपटक बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा स्वीकार गर्दै सहकार्यको बाटो रोजेका छन् । सात बुँदे सहमतिसँगै तीनै शक्ति अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै झन्डामुनि होमिने भएका छन् ।

यस एकताले वैकल्पिक राजनीतिक धारलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । कुशासनविरुद्धको आवाजलाई संगठित शक्ति बनाउँदै नयाँ नेतृत्व स्थापित गर्ने उनीहरूको दाबी अब चुनावी मैदानमा कति प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन मतदाताले गर्नेछन् ।