मकवानपुर
हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहानै अँध्यारोमै सडक डिभिजन हेटौँडाले संरचना हटाउने कार्य सुरू गरेको छ। ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर बजार क्षेत्रका सडक दायाँ–बायाँ रहेका घर, टहरा तथा अन्य संरचना डोजर प्रयोग गरी भत्काइएको हो।

सडक डिभिजनले शुक्रबार साँझदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बजार क्षेत्रमा परिचालन गरी पूर्वतयारी पूरा गरेको थियो। शनिबार बिहान डिभिजनले बजारका एक दर्जनभन्दा बढी स्थानमा बुल्डोजर चलाएको बताइएको छ।

यसअघि सडक डिभिजनले मङ्सिर ५ गते एक सूचना जारी गर्दै त्रिभुवन राजपथको रातोमाटेदेखि सामरी पुल, र महेन्द्र राजमार्गको बुद्धचोक हुँदै राप्ती पुलसम्म सडक सीमा दुवैतर्फ २५र२५ गज विस्तार गरिने भन्दै त्यस भित्रका संरचना हटाउन १५ दिने म्याद जारी गरेको थियो ।
तर स्थानीय बासिन्दाले उचित मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै संरचना हटाउन अस्वीकार गरेका थिए। माग पूरा नभएपछि डिभिजनले शनिबार बिहानैदेखि बल प्रयोगसहित डोजर चलाउनु परेको अधिकारीहरूको भनाइ छ।

उता, हेटौँडा बजार क्षेत्रको सडक विस्तारका विषयमा उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै संरचना नहटाउन निर्देशन दिएको थियो। कारण देखाऊ आदेश समेत जारी भएको अवस्थामा पनि केही घरमा डोजर लगाएर भत्काइएको स्थानीयले आरोप लगाएका छन्।

सडक विस्तार योजनाविरुद्ध बजार क्षेत्रका स्थानीय व्यापार तथा व्यवसायीहरू केही दिनयतादेखि व्यवसाय बन्द गराएर आन्दोलनमा उत्रिँदै आएका थिए।