काठमाडौं

संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पतालको रूपमा स्थापित गराउन सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा यो तथ्य सार्वजनिक गरेको हो।

नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलका अनुसार, भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको छ। मापदण्ड अनुसार, बाँकेको भेरी अस्पताल ८३ अंकसहित दोस्रो स्थानमा रह्यो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंक प्राप्त गरे।

राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पताल ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९ र नारायणी अस्पताल ५६ अंक मात्र प्राप्त गरेका छन्। डा. पौडेलका अनुसार यी अस्पतालहरू सुधारको क्रममा रहेका छन्।

तर सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पतालको अवस्था भने निकै कमजोर देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पतालले मात्र ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मापदण्ड पूरा गरेका छन्।

मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचक समावेश गरिएको हुन्छ। डा। पौडेलले भने, “स्वास्थ्य संस्थामा नागरिक पुगेका छन्, तर स्वास्थ्य प्रणालीले गुणस्तरीय सेवा दिन सकेको छैन।” यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पताल समावेश गरिएको थियो। मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ।