बेलायतको वर्क परमिट भिजा, असाइलम केस, स्पोन्सरसीप, जागिर तथा आवास मिलाइदिने नाममा नेपालीहरूमाथि नेपालीले नै ठगी गर्ने क्रम तीव्र रूपमा बढ्दै गएको छ । यस किसिमको ठगी प्रवृत्ति फैलँदै जाँदा लन्डनस्थित नेपाली दूतावासले समेत गम्भीर चासो व्यक्त गरेको छ ।

हाल बेलायत जान चाहनेहरू मात्र नभई यूकेमै बसोबास गरिरहेका नेपालीहरू पनि ठगीको सिकार बन्ने क्रम बढेको दूतावासले जनाएको छ । ठगीका कारण पीडितहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म गुमाउनुपरेको छ भने आर्थिक क्षतिसँगै सम्बन्धित व्यक्ति र उनका परिवार मानसिक तनावमा परेको जनाइएको छ ।

नेपाली दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा ठगी भएको सम्बन्धमा धेरै उजुरी प्राप्त भएको जानकारी दिएको छ । दूतावासका अनुसार कतिपय ठगहरू नेपाली मूलका व्यक्तिहरू नै रहेको र चिनजानकै माध्यमबाट तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई संगठित रूपमा ठगी गर्ने गरिएको पाइएको छ ।

सूचनामा भनिएको छ, “यस्ता अपराधमा संलग्न व्यक्तिहरूले आफ्नो वास्तविक पहिचान लुकाउने, फरक नाम प्रयोग गर्ने, ठेगाना नखुलाउने, सम्पर्क नम्बर बारम्बार परिवर्तन गर्ने र रकम असुल गरेपछि सम्पर्कविहीन हुने गर्छन् ।” दूतावासका अनुसार यूकेको कानुनी कारबाहीबाट बच्न ठगहरूले नेपालमै नगद रकम उठाउने तथा यूकेमा बैंकमार्फत कारोबार नगर्ने गरेको पनि भेटिएको छ ।

दूतावासले यस्ता ठगी नेपाल र संयुक्त अधिराज्य दुवै मुलुकमा दण्डनीय अपराध भएकाले समस्या परेमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा यूकेमा स्थानीय प्रहरी र नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न आग्रह गरेको छ । साथै, पीडित नेपालीलाई info@nepembassy.org.uk इमेल वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पछिल्लो समय दूतावासमा ठगीसम्बन्धी उजुरीको संख्या उल्लेख्य रूपमा बढेको बताए । “ठगीको सिकार हुनु अघि नै पर्याप्त जानकारी लिऔँ, राम्रोसँग बुझेर मात्र निर्णय गरौँ,” उनले भने, “आवश्यक परे कानुनविद्, सोलिसिटर वा दूतावासजस्ता आधिकारिक निकायसँग परामर्श लिनु जरुरी छ ।”

राजदूत दुवाडीले ठगी बढ्दो क्रममा रहेकामा चिन्ता व्यक्त गर्दै आवश्यक परे ठगहरूको सूची सार्वजनिक गरी कारबाहीका लागि पहल गर्न दूतावास तयार रहेको बताए । उनले पीडितहरूलाई प्रमाणसहित आउन आग्रह गर्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ठगीका गुनासा बढेपछि वैदेशिक रोजगार विभागले पनि यसअघि नै सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिसकेको छ ।