काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गरेको सीमासम्बन्धी अभिव्यक्ति नेपाल–भारत सीमा क्षेत्रमा देखिएको ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग तथा उपभोग) सम्बन्धी प्राविधिक यथार्थसँग जोडिएको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा सीमापार उपयोग–उपभोगका विषयमा विवाद रहेको बताए। उनले दुवै देशका सम्बन्धित संयन्त्रमार्फत सीमा क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न नक्साङ्कन (म्यापिङ) कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार प्राविधिक अध्ययनका क्रममा केही स्थानमा हाल नेपालले उपयोग गरिरहेको भूभाग भारततर्फ पर्न सक्ने तथा भारतले उपयोग गरिरहेको केही भूभाग नेपालतर्फ पर्न सक्ने संकेत देखिएको छ। यस्ता क्षेत्रमा दुवै पक्षले आ–आफ्नो दाबी गर्दै आएका छन्।
मन्त्री खनालले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति पनि यही प्राविधिक अध्ययन र ‘क्रस बोर्डर अकुपेशन’ को सन्दर्भमा आएको स्पष्ट पारे। उनले सीमासम्बन्धी विस्तृत तथ्याङ्क र प्रतिवेदन नक्साङ्कन प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिने बताए।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा विवाद द्विपक्षीय विषय भएकाले ऐतिहासिक सन्धि–सम्झौता, आधिकारिक नक्सा र स्थापित आधारहरूको अध्ययन गर्दै कूटनीतिक संवाद तथा वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको समेत दोहोर्याए।
उनले सीमा विवादको दीर्घकालीन र स्वीकार्य समाधानका लागि आपसी समझदारी, तथ्यमा आधारित अध्ययन र निरन्तर कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गरे।
