काठमाडौं। नेकपा (एमाले)का निवर्तमान बरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत सही ढंगले सञ्चालन गर्नका लागि आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् ।

सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुनेमा उनको जोड थियो ।

जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई अझ सुधार गर्दै अगाडि बढाउन आन्तरिक प्रतिस्पर्धा आवश्यक रहेको उनका भनाइ छ। भूमिगत अवस्थादेखि नै पार्टीभित्र प्रतिस्पर्धा रहँदै आएको स्मरण गराउँदै पोखरेलले अहिले पनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक कुरा हो। जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा यसलाई अस्वाभाविक रूपमा लिन हुँदैन। उम्मेदवारी दिएको कारण पार्टीलाई अझ राम्रो बनाउनु हो। म पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्ने उद्देश्यका साथ उम्मेदवार बनेको हुँ।’ न्युज एजेन्सी नेपालको सहयोगमा