काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले पर्यटन प्रवर्द्धनका लागि तीव्र गतिमा काम गरिरहेको भन्दै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल सङ्घ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको प्रमुख साझेदारका रूपमा लिइएको उल्लेख गर्दै राज्यसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकासमा सक्रिय हुन आह्वान गर्नुभयो।
उहाँले होटल व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिनुभयो।
छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष होटल व्यवसायीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम भए पनि हाल वार्षिक करिब १२ लाख पर्यटक मात्रै नेपाल भित्रिरहेको जानकारी गराएका थिए।
उनीहरूले पर्यटक आगमनमा वृद्धि भए होटल उद्योगमार्फत ठूलो मात्रामा रोजगारी सिर्जना हुने, नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
व्यवसायीहरूले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य (डेस्टिनेसन वेडिङ) र सीमापार पर्यटनको आकर्षक केन्द्र बनाउने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।
उनीहरूको मागअनुसार होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराइनुपर्ने, साथै २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन (आईईई) को सीमा बढाएर ५० शय्यासम्म कायम गरिनुपर्ने बताएका छन्।
यसैगरी, पोखरा र गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगमा लाग्ने रोयल्टी सम्बन्धी व्यवस्था संशोधन गरी आपसी सहमतिमा शुल्क निर्धारण गर्न सकिने कानुनी व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।
होटल व्यवसायसँग सम्बन्धित विभिन्न कानुनको पुनरावलोकन र संशोधन आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूले नेपाललाई विवाह गन्तव्यका रूपमा प्रवर्द्धन गर्न गरगहना आयात प्रक्रिया सहज बनाउनुपर्ने तथा आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रचार केवल फोटो–भिडियोमा सीमित नराखी पूर्ण कथा (फुल स्टोरी टेलिङ) सहितको प्रचार–प्याकेज र विशेषज्ञको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।
छलफलमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।
