न्युजील्याण्ड — देशका धेरै भागमा बुधबारदेखि भारी वर्षा र शक्तिशाली हावाहुरीको जोखिम बढेको छ। मेटसर्भिसका अनुसार उत्तरतर्फबाट देशतर्फ अघि बढिरहेको उष्णकटिबन्धीय न्यूनचाप प्रणालीका कारण मौसम प्रतिकूल बन्ने संकेत देखिएको हो।

मेटसर्भिसले जनाएको अनुसार बलियो र आर्द्र पूर्वी वायु सक्रिय भएसँगै बुधबारदेखि विभिन्न क्षेत्रमा निरन्तर वर्षा हुने र पूर्वी दिशाबाट तीव्र हावा चल्ने सम्भावना छ। यसका कारण बाढी, डुबान, पहिरो तथा यातायात अवरुद्ध हुने जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। न्यूनचाप प्रणाली देश पार गरेपछि भने बिहीबारदेखि वर्षा र हावाको प्रभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।

मेघगर्जनका क्रममा प्रतिघण्टा २५ मिलिमिटर वा सोभन्दा बढी वर्षा, २० मिलिमिटरभन्दा ठूलो असिना, तथा ११० किमी प्रतिघण्टा वा सोभन्दा बढीको हावाको झोका देखिएमा त्यसलाई गम्भीर मेघगर्जनको रूपमा वर्गीकरण गरिने मेटसर्भिसले जनाएको छ। साथै ११६ किमी प्रतिघण्टाभन्दा बढी वेगका टोर्नाडो देखिएमा उच्च जोखिम मानिनेछ।

त्यसैगरी ६ घण्टामा ५० मिलिमिटरभन्दा बढी वा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी व्यापक वर्षा, वा औसत ९० किमी प्रतिघण्टाभन्दा बढीको तीव्र हावाहुरी चलेमा गम्भीर मौसम चेतावनी जारी गरिनेछ। केही भौगोलिक रूपमा संवेदनशील क्षेत्रहरूमा भने फरक मापदण्ड लागू हुने मेटसर्भिसले स्पष्ट पारेको छ।

गम्भीर मौसम चेतावनीलाई अपेक्षित प्रभावका आधारमा ओरेन्ज र रेड श्रेणीमा वर्गीकरण गरिनेछ। अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न तथा मेटसर्भिस र स्थानीय निकायबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्। Photo RNZ