अकल्याण्ड – न्युजिल्याण्डमा बेरोजगारी दर करिब ११ वर्षयताकै उच्च स्तरमा पुगेको छ। नयाँ तथ्यांक सार्वजनिक भएसँगै आगामी आमनिर्वाचनको तयारीमा रहेका प्रमुख राजनीतिक दलहरूबीच आर्थिक नीति, रोजगारी सिर्जना र बढ्दो जीवनयापनको लागतलाई लिएर तीव्र बहस सुरु भएको छ। यति मात्र होइन उनीहरुबीच आरोप प्रत्यारोप नै चलेको छ ।

सरकारले अर्थतन्त्र सुधारका लागि पर्यटन, पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय शिक्षा र निजी क्षेत्रको लगानी प्रवर्द्धनमा जोड दिइरहेको जनाएको छ भने प्रतिपक्षी दलहरूले बढ्दो बेरोजगारीलाई सरकारको आर्थिक नीतिको असफलताको परिणाम भएको आरोप लगाएका छन्।

परिवारको आर्थिक अवस्था प्रभावित हुने चिन्ता बढाएको छ।

वित्तमन्त्री निकोला विलिसले पछिल्लो तथ्यांकले दोस्रो त्रैमासिक न्युजिल्याण्डका लागि चुनौतीपूर्ण रहेको पुष्टि गरेको बताइन्। उनले सरकारले अर्थतन्त्रलाई गति दिन, व्यवसायिक विश्वास बढाउन र रोजगारी सिर्जना गर्न पर्यटन, अन्तर्राष्ट्रिय शिक्षा, पूर्वाधार निर्माण तथा ठूला निर्माण परियोजनालाई तीव्र बनाउने नीति अघि बढाइरहेको उल्लेख गरिन्।

उनका अनुसार व्यवसायीमा बढ्दो आत्मविश्वास र कर्मचारी नियुक्त गर्ने योजनामा आएको सुधारले आगामी दिनमा रोजगारी बढ्ने संकेत देखिएको छ।

तर राष्ट्रिय पार्टीकी आर्थिक प्रवक्ताको भूमिकामा जारी अर्को वक्तव्यमा विलिसले विपक्षी लेबर पार्टीमाथि सरकारका रोजगारी सिर्जना गर्ने नीतिको विरोध गरेको आरोप लगाइन्। उनले लेबर र उसका सम्भावित गठबन्धन साझेदारहरूले नयाँ करको प्रस्ताव अघि सारेर व्यवसायिक वातावरण कमजोर बनाउन खोजेको दाबी गरिन्।

लेबर पार्टीकी वित्त प्रवक्ता बार्बरा एडमन्ड्सले बढ्दो बेरोजगारीलाई प्रधानमन्त्री क्रिस्टोफर लक्सनको आर्थिक व्यवस्थापनको असफलताको प्रमाण भएको टिप्पणी गरिन्।

उनले चुनावअघि प्रधानमन्त्रीले अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना र महँगी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले भने बेरोजगारी बढ्दै गएको र त्यसको मूल्य सर्वसाधारणले चुकाइरहेको बताइन्।

उनले भनिन्, “हरेक बेरोजगार व्यक्तिको पछाडि काम खोजिरहेको एक नागरिक, बिल तिर्न संघर्ष गरिरहेको एउटा परिवार र त्यसको असर खेपिरहेको एउटा समुदाय हुन्छ। यो सरकारको आर्थिक नीतिको वास्तविक मूल्य हो।”

ग्रीन पार्टीकी सहनेता क्लोई स्वारब्रिकले सरकारले लगातार खर्च कटौती गरेर अर्थतन्त्र बलियो बनाउन नसक्ने बताइन्। उनले सरकारको नीति साना व्यवसाय र स्थानीय समुदायको सट्टा ठूला बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्ने गरी केन्द्रित भएको आरोप लगाउँदै स्थानीय रोजगारी र पूर्वाधारमा लगानी बढाउन आग्रह गरिन्।

न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले बेरोजगारी वृद्धि मुख्यतः हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा भएको बताए।

उनले न्युजिल्याण्डले आफ्नै तेल तथा ग्यास स्रोतको विकास गर्नुपर्ने आवश्यकता पुनः दोहोर्याउँदै आफ्नो पार्टीको अपतटीय तेल तथा ग्यास खोजी विस्तार गर्ने नीतिलाई उचित ठहर गरे।

त्यसैगरी एक्ट पार्टीका नेता डेभिड सिमोरले पनि अन्तर्राष्ट्रिय घटनाक्रमले अर्थतन्त्रमा दबाब सिर्जना गरेको उल्लेख गर्दै सरकारी खर्चमा अनुशासन कायम राख्नुपर्ने धारणा राखे। उनका अनुसार इन्धनको मूल्य तीव्र रूपमा बढ्दा उपभोक्ताको खर्च गर्ने क्षमता घटेको छ, जसको प्रत्यक्ष असर रोजगारी र व्यवसायमा परेको छ।

ते पार्टी माओरीका सहनेता राविरी वाइटिटीले बेरोजगारी दर अस्वीकार्य रूपमा उच्च रहेको भन्दै विशेषगरी माओरी, प्यासिफिका समुदाय र युवाहरू सबैभन्दा बढी प्रभावित भएको बताए। उनले रोजगारी अभावकै कारण धेरै युवा अष्ट्रेलिया तथा अन्य मुलुकतर्फ पलायन भइरहेको आरोप लगाए। समाचार स्रोत: आरएनजेड