अकल्याण्ड। न्युजिल्याण्डमा कर्मचारीहरूले पाउने वार्षिक र बिरामी बिदा गणना गर्ने प्रणालीमा ठूलो परिवर्तन हुने भएको छ। संसदले पुरानो बिदा प्रणालीलाई प्रतिस्थापन गर्ने नयाँ कानुन पारित गरेसँगै अब देशभरका कार्यस्थलमा काम गरेको घण्टाका आधारमा बिदा गणना गर्ने व्यवस्था लागू हुने भएको हो।
अब कर्मचारीको वार्षिक र बिरामी बिदा दिन होइन, काम गरेको घण्टाका आधारमा गणना हुनेछ। स्थायी, अंशकालीन र अस्थायी सबै कर्मचारीले काम सुरु गरेको पहिलो दिनदेखि वार्षिक, बिरामी, शोक तथा पारिवारिक हिंसासम्बन्धी बिदाको अधिकार पाउनेछन्। अतिरिक्त (ओभरटाइम) वा आकस्मिक रूपमा काम गरेको घण्टामा बिदा जम्मा नहुने, त्यसको सट्टा रोजगारदाताले १२.५ प्रतिशत बिदा क्षतिपूर्ति तिर्नुपर्नेछ। कर्मचारीले प्रत्येक वर्ष आफूले जम्मा गरेको वार्षिक बिदामध्ये २५ प्रतिशतसम्म नगदमा साट्न सक्नेछन्। नयाँ कानुन तत्काल लागू नहुने, व्यवसाय तथा रोजगारदातालाई तयारीका लागि २४ महिनाको समय र रोजगार सम्झौता अद्यावधिक गर्न थप एक वर्ष दिइनेछ।
बुधबार साँझ संसदबाट रोजगार बिदा विधेयक तेस्रो तथा अन्तिम वाचनबाट पारित भएको हो। नयाँ कानुनले सन् २००३ देखि लागू हुँदै आएको बिदा ऐनलाई खारेज गर्दै नयाँ बिदा प्रणाली लागू गर्ने व्यवस्था गरेको छ। सरकारले यसलाई कर्मचारी र रोजगारदाता दुवैका लागि बिदा व्यवस्थापनलाई अझ सरल, स्पष्ट र व्यवहारिक बनाउने सुधारका रूपमा प्रस्तुत गरेको छ।
कार्यस्थल सम्बन्ध तथा सुरक्षा मन्त्री ब्रुक भान भेल्डेनले हालको बिदा प्रणाली निकै जटिल भएकाले त्यसलाई सुधार गर्न नयाँ कानुन ल्याइएको बताइन्। उनका अनुसार पुरानो व्यवस्थामा घण्टा, दिन र साताका आधारमा बिदा गणना गर्नुपर्ने भएकाले कर्मचारी र रोजगारदाता दुवैलाई अन्योल हुने गरेको थियो। नयाँ कानुनले त्यस्तो जटिलता हटाउने उनको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार अब कर्मचारीको वार्षिक बिदा र बिरामी बिदा काम गरेको घण्टाका आधारमा जम्मा हुनेछ। यसअघि धेरैजसो अवस्थामा बिदा दिनका आधारमा गणना गरिन्थ्यो।
यस्तै, अतिरिक्त समय (ओभरटाइम) वा आकस्मिक रूपमा काम गरेको घण्टामा भने वार्षिक वा बिरामी बिदा जम्मा हुने छैन। त्यसको सट्टा रोजगारदाताले ती घण्टाका लागि १२ दशमलव ५ प्रतिशत बिदा क्षतिपूर्ति कर्मचारीलाई भुक्तानी गर्नुपर्नेछ।
नयाँ कानुनअनुसार स्थायी, अंशकालीन तथा अस्थायी सबै कर्मचारीले काम सुरु गरेको पहिलो दिनदेखि नै वार्षिक बिदा, बिरामी बिदा, शोक बिदा तथा पारिवारिक हिंसासम्बन्धी बिदाको अधिकार प्राप्त गर्नेछन्। यसअघि केही बिदा सुविधा पाउन निश्चित अवधि काम गरेको हुनुपर्ने व्यवस्था थियो।
त्यसैगरी कर्मचारीहरूले प्रत्येक वर्ष आफूले जम्मा गरेको कुल वार्षिक बिदामध्ये २५ प्रतिशतसम्म नगदमा साट्न सक्ने व्यवस्था पनि गरिएको छ। यसले आवश्यक परेका बेला कर्मचारीलाई बिदाको सट्टा रकम लिन सक्ने विकल्प दिनेछ।
सरकारका अनुसार नयाँ कानुनले रोजगारदाता र तलब व्यवस्थापन गर्ने संस्थाहरूलाई बिदा गणना गर्न सहज बनाउनेछ। मन्त्री भान भेल्डेनले यो कानुनले कार्यस्थलका लागि सरल, न्यायपूर्ण र व्यवहारिक प्रणाली स्थापना गर्ने विश्वास व्यक्त गरिन्।
यद्यपि, नयाँ कानुनको विपक्षमा पनि आवाज उठेको छ। संसदमा रहेका तीनवटै विपक्षी दलले विधेयकको विरोध गरेका थिए।
मुख्य विपक्षी लेबर पार्टीले नयाँ व्यवस्थाले विशेषगरी अंशकालीन र अस्थायी कर्मचारीलाई असर गर्ने जनाएको छ। पार्टीका अनुसार अतिरिक्त समय काम गरे पनि त्यसअनुसार बिदा नजम्मा हुने भएकाले धेरै कर्मचारीले अहिलेको भन्दा कम सुविधा पाउन सक्छन्। बिरामी हुँदा अंशकालीन कर्मचारी काममा जान वा तलब गुमाउनुपर्ने अवस्था आउन सक्ने उनीहरूको तर्क छ।
लेबर सांसद फिल ट्वाइफोर्डले सरकारले रोजगारदाताको प्रशासनिक सुविधा बढाउने नाममा अंशकालीन र अस्थायी कर्मचारीको अधिकार कमजोर बनाएको आरोप लगाए।
उता सार्वजनिक सेवा सङ्घले पनि विधेयकको विरोध गर्दै यो कानुन लागू भए करिब दुई लाख कर्मचारीको आम्दानीमा असर पर्न सक्ने दाबी गरेको थियो।
सरकारले भने नयाँ प्रणाली तत्काल लागू नहुने स्पष्ट पारेको छ। व्यवसाय, कम्पनी तथा तलब व्यवस्थापन गर्ने संस्थाहरूलाई आवश्यक तयारीका लागि २४ महिनाको समय दिइनेछ। त्यसपछि पनि रोजगार सम्झौतामा रहेका बिदासम्बन्धी प्रावधान अद्यावधिक गर्न थप एक वर्षको संक्रमणकालीन अवधि प्रदान गरिनेछ।
