न्युजिल्याण्ड

न्युजिल्याण्डको दक्षिण टापुका केही क्षेत्रमा आजबाट उच्च तापक्रम सुरु भएको छ । मौसम पुर्वानुमान मेटसर्भिसका अनुसार तापक्रमको लहर दक्षिणबाट उत्तरतिर सर्दै जाँदा कतिपय स्थानमा उच्चतम अर्थात तापक्रम ३० डिग्री सेल्सियस भन्दा बढीहुन सक्ने छ ।

मेटसर्भिसका अनुसार आज (शुक्रबार) दक्षिण टापुका विभिन्न भागमा अत्यधिक तातो मौसम रहनेछ। क्राइस्टचर्च, एशबर्टन र ओमारुमा तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। डुनेडिनमा २८ डिग्री सेल्सियस, भने तिमारु र ब्लेनहाइममा २९ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको छ।

दक्षिण–पूर्वी क्षेत्रमा चल्ने तीव्र उत्तरपश्चिमी हावाले तापक्रम झन् बढाउनेछ। साउथल्याण्ड, ओटागो तथा आओराकी–माउन्ट कुकको दक्षिणतर्फका क्यान्टरबरी हाई कन्ट्री क्षेत्रमा मेटसर्भिसले शुक्रबार साँझ ७ बजेसम्म तिव्र गतिको हावाको चल्नसक्ने छ । विशेषगरी भित्री भागमा हावाको गति १०० किमी प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान छ।

उत्तरी टापुमा पनि आजदेखि न्यानो मौसम रहनेछ। अधिकांश क्षेत्रका तापक्रम न्यूनतम २० डिग्रीको हाराहारीमा रहने र दिउँसो २० को दशकको मध्यसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

सप्ताहन्तमा उत्तरी टापुको पूर्वी क्षेत्र विशेष गर्मीले प्रभावित हुने अपेक्षा छ। गिस्बोर्न, नेपियर र हेस्टिङ्समा शनिबारदेखि सोमबारसम्म तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ। नेपियरमा शनिबार र सोमबार ३२ डिग्री सेल्सियस र हेस्टिङ्समा शनिबार ३२ तथा आइतबार ३३ डिग्री सेल्सियस पुग्ने सम्भावना छ। गिस्बोर्नमा तीनै दिन ३१ डिग्री सेल्सियसको आसपास रहने पूर्वानुमान गरिएको छ।

अकल्याण्ड लगायत माथिल्लो उत्तरी टापुमा शनिबार तापक्रम २० को दशकको मध्यमा स्थिर रहनेछ। यद्यपि, दक्षिण टापुको पश्चिमी तटमा शनिबार केही वर्षा हुने सम्भावना छ। आइतबार भने दक्षिण टापुको पश्चिम तथा दक्षिण क्षेत्रमा भारी वर्षा थप तीव्र हुने मेटसर्भिसको पूर्वानुमान छ।

मेटसर्भिसका मौसमविद् माइकल पावलीका अनुसार, “दक्षिण टापुमा शनिबार सप्ताहन्तको सबैभन्दा राम्रो दिन हुनेछ। केप्लर च्यालेञ्जमा सहभागी धावकहरू तथा पहाडतिर जानेहरूका लागि राति पानी शुरु हुनु अघि बाहिर निस्कन उपयुक्त समय यही हुनेछ।” फोटो : एआई