अकल्याण्ड। न्युजिल्याण्डमा अब अंग्रेजी भाषाले पनि कानुनी रूपमा आधिकारिक भाषाको मान्यता पाएको छ। संसदले अंग्रेजी भाषा विधेयक तेस्रो तथा अन्तिम वाचनबाट पारित गरेपछि अंग्रेजीले ते रेओ माओरी र न्युजिल्याण्ड सांकेतिक भाषासँगै आधिकारिक भाषाको कानुनी मान्यता प्राप्त गरेको हो।
यसअघि अंग्रेजी व्यवहारमा सरकारी तथा सार्वजनिक कामकाजको मुख्य भाषा भए पनि त्यसलाई कानुनमार्फत आधिकारिक भाषा घोषणा गरिएको थिएन। नयाँ कानुनले पहिलो पटक अंग्रेजीको आधिकारिक भाषाको हैसियतलाई कानुनी मान्यता दिएको हो।
न्यायमन्त्री पल गोल्डस्मिथको नाममा दर्ता भएको दुई पृष्ठको उक्त विधेयकमा अंग्रेजी लामो समयदेखि न्युजिल्याण्डको व्यवहारिक (डे फ्याक्टो) आधिकारिक भाषा रहे पनि त्यसको हैसियत कानुनमा स्पष्ट रूपमा उल्लेख नभएको उल्लेख गरिएको छ।
सरकारका अनुसार नयाँ कानुनले अंग्रेजी भाषाको कानुनी हैसियत स्पष्ट पारे पनि ते रेओ माओरी र न्युजिल्याण्ड सांकेतिक भाषालाई प्राप्त विद्यमान कानुनी अधिकार वा संरक्षणमा कुनै परिवर्तन हुने छैन।
सरकारको दाबी
संसदमा विधेयकमाथिको छलफलका क्रममा सरकारमा सहभागी न्युजिल्याण्ड फर्स्ट पार्टीकी सांसद केसी कोस्टेलोले विधेयक समयको बर्बादी नभई कानुनलाई स्पष्ट बनाउने उद्देश्यले ल्याइएको बताइन्।
उनले यो विधेयकले अंग्रेजी भाषाको कानुनी हैसियत स्पष्ट पार्ने मात्र काम गरेको र यसबाट अन्य आधिकारिक भाषाको अधिकारमा कुनै असर नपर्ने दाबी गरिन्।
उनका अनुसार यो विधेयक न्युजिल्याण्ड फर्स्ट र सत्तारुढ गठबन्धनबीच भएको सम्झौताअनुसार ल्याइएको हो।
विपक्षी दलको आलोचना
विपक्षी दलहरूले भने सरकारले आवश्यकताभन्दा बढी राजनीतिक मुद्दा बनाएको भन्दै विधेयकको आलोचना गरेका छन्।
ग्रीन पार्टीकी सांसद तमाथा पलले अंग्रेजी भाषा पहिलेदेखि नै सबै सरकारी कामकाजको मुख्य भाषा रहेकाले यस्तो कानुन आवश्यक नभएको बताइन्।
उनले ते रेओ माओरी भाषाले कानुनी संरक्षण पाउनुको कारण इतिहासमा माओरी भाषालाई योजनाबद्ध रूपमा दबाउने प्रयास भएको भन्दै आदिवासी भाषाको संरक्षण आवश्यक रहेको उल्लेख गरिन्।
ग्रीन पार्टीकै सांसद लरेन्स स्यु–नानले सरकारले अंग्रेजी भाषालाई वास्तवमा केबाट जोगाउन खोजेको हो भन्ने प्रश्न उठाउँदै अंग्रेजीको प्रयोगमा कुनै कानुनी समस्या नभएको अवस्थामा नयाँ कानुन आवश्यक नरहेको टिप्पणी गरे।
त्यस्तै, ते पाती माओरीकी सांसद ओरिनी काइपाराले माओरी भाषाले वर्तमान स्थान प्राप्त गर्न लामो संघर्ष गर्नुपरेको स्मरण गराउँदै अंग्रेजी भाषा पहिलेदेखि नै प्रमुख भाषा रहेकाले यसलाई कानुनी मान्यता दिन समय खर्च गर्नुको औचित्यमाथि प्रश्न उठाइन्।
लेबरको फरक अडान
मुख्य विपक्षी लेबर पार्टीले विधेयकको उद्देश्यप्रति असहमति जनाए पनि अन्ततः संसदमा यसको पक्षमा मतदान गरेको छ।
लेबर सांसद डन्कन वेबले विधेयकलाई “अर्थहीन” भने भने अर्की सांसद क्यामिला बेलिचले अंग्रेजीको प्रयोगबारे सबैलाई थाहा भएको विषयलाई अनावश्यक रूपमा राजनीतिक मुद्दा बनाइएको टिप्पणी गरिन्।
एक्ट र नेसनलको समर्थन
सत्तारुढ एक्ट पार्टीले भने अस्पताल, विमानस्थल तथा अन्य सार्वजनिक सेवामा अंग्रेजी भाषा प्रभावकारी सञ्चारका लागि महत्वपूर्ण भएकाले विधेयकको समर्थन गरेको जनाएको छ।
सत्तारुढ नेसनल पार्टीका सांसदहरूले पनि विधेयकको समर्थन गरे। यद्यपि, उनीहरूको छलफल छोटो थियो।
नेसनल सांसद भेनेसा विनिकले संसदमा बोल्दै अंग्रेजी यो विधेयकअघि पनि संसदको मुख्य भाषा रहेको र अब पनि रहने उल्लेख गर्दै, “परिवर्तन भएको भनेको अंग्रेजी भाषाबारे छलफल गर्न संसदले केही घण्टा खर्च गरेको मात्रै हो,” भन्ने टिप्पणी गरिन्।
नयाँ कानुन लागू भएपछि अंग्रेजीले ते रेओ माओरी र न्युजिल्याण्ड सांकेतिक भाषासँगै न्युजिल्याण्डको आधिकारिक भाषाको कानुनी मान्यता प्राप्त गरेको छ। सरकारले यसबाट कानुनी स्पष्टता आउने जनाएको छ भने विपक्षी दलहरूले यसलाई आवश्यक नभएको राजनीतिक कदमको संज्ञा दिएका छन्।
