न्युजिल्यान्डमा रहेका नेपाली समुदायलाई खेल, संस्कृति र एकताको सूत्रमा बाँध्ने प्रतिष्ठित तेन्जिङ हिलारी कप (टिएचसी) २०२६ को ११औँ संस्करण आगामी फेब्रुअरी ७ र ८ तारिखमा अकल्याण्डको टेआटाटु साउथस्थित म्याक्लियोड पार्कमा आयोजना हुने भएको छ।

फुटबल क्लब खुकुरी इन्क. र टेन्जिङ हिलारी कप समितिको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली भाषीहरूले स्थापना गरेका १८ फुटबल टिमको सहभागिता रहनेछ। प्रतियोगितामा १२ ओपन लिग टिम, ३ मास्टर्स टिम र ३ किड्स टिम समावेश छन्। दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा करिब १,५०० खेलाडी, पदाधिकारी तथा समर्थकको सहभागिता रहने आयोजकले अनुमान गरेका छन्। प्रतियोगिताले समावेशी र परिवारमैत्री भावना अझ सुदृढ बनाउने विश्वास आयोजकको छ।

सन् २०१५ मा सुरु भएको तेन्जिङ हिलारी कप विश्वप्रसिद्ध पर्वतारोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथ आरोहणको उच्च सहासलाई सम्मान गर्दै स्थापना गरिएको हो। हाल यो प्रतियोगिता न्युजिल्यान्डमा रहेका नेपाली तथा नेपाली भाषी समुदायबीचको प्रमुख फुटबल प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ।

आयोजक समितिका अनुसार टिएचसी २०२६ अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हुने अपेक्षा गरिएको छ। प्रतियोगिताका संयोजक सुसान्त लामाले तेन्जिङ हिलारी कप फुटबल मात्र नभई समुदायलाई एकताबद्ध गर्ने अभियान भएको बताउँदै भन्नुभयो, “यो प्रतियोगिताले हाम्रो समुदायलाई एक ठाउँमा ल्याउने, विभिन्न क्षेत्रबीचको सम्बन्ध मजबुत बनाउने र परिवार, युवा तथा ज्येष्ठ नागरिकलाई खेलमार्फत जोड्ने अवसर प्रदान गर्छ।”

टिएचसी २०२६ फुटबल क्लब खुकुरीको २०औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ। सन् २००६ मा स्थापना भएको खुकुरी एफसी न्युजिल्यान्डका सबैभन्दा पुराना नेपाली फुटबल क्लबहरूमध्ये एक हो। क्लबले यसअघि सन् २०१६ र २०१९ मा अकल्याण्डमै टेन्जिङ हिलारी कप आयोजना गरिसकेको छ। क्लबका अध्यक्ष अमित सापकोटाले प्रतियोगितालाई क्लबका लागि गर्वको क्षणको रूपमा वर्णन गर्दै भन्नुभयो, “हाम्रो २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो पटक अकल्याण्डमा तेन्जिङ हिलारी कप आयोजना गर्न पाउनु ठूलो उपलब्धि हो। यसले दुई दशकदेखि फुटबल र समुदायप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ र नयाँ पुस्ताका लागि अवसर सिर्जना गर्ने हाम्रो उद्देश्यलाई थप मजबुत बनाउँछ।”

खेलकुदसँगै तेन्जिङ हिलारी कप २०२६ मा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम, स्थानीय खाना तथा व्यवसायिक स्टलहरू पनि रहनेछन्। यसले साना व्यवसायको प्रवर्द्धन गर्दै समुदायमाझ उत्सवमय वातावरण सिर्जना गर्ने आयोजकको लक्ष्य छ। खेल र संस्कृतिको संयोजनमार्फत सम्पूर्ण परिवारका लागि रमाइलो र अर्थपूर्ण अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ।

टिएचसी समितिका सदस्य नितेश लिंखा राईले ओपन, मास्टर्स र किड्स टिमको सहभागिताले प्रतियोगिताको वास्तविक आत्मा झल्काउने उल्लेख गर्दै भन्नुभयो, “यो पुस्ता र समुदायलाई फुटबलमार्फत जोड्ने र हामी को हौँ भन्ने पहिचानलाई सँगै उत्सव मनाउने माध्यम हो।”

कार्यक्रमको प्रत्यक्ष प्रसारण डिजिटल तथा सामाजिक सञ्जालमार्फत गरिने आयोजकले जानकारी दिएका छन्।