नेपाली मूलका युवा फुटबलर शाश्वत राना स्वीडेनको प्रसिद्ध फुटबल क्लब माल्मो एफएफ मा व्यावसायिक रूपमा अनुबन्धित भएका छन्। लामो समयदेखि डेनमार्कमा बसेर फुटबल खेल्दै आएका १८ वर्षीय लेफ्ट–ब्याक शाश्वतले पहिलो पटक प्रोफेशनल सम्झौता पाएका हुन्। माल्मोले उनलाई तीन वर्षका लागि, अर्थात् सन् २०२८ सम्मका लागि अनुबन्ध गरेको क्लबले जनाएको छ।
माल्मो स्वीडेनको सबैभन्दा सफल क्लबमध्ये एक हो, जसले देशको शीर्ष डिभिजन ‘अलस्भेन्सकान’ कीर्तिमानी २७ पटक जितिसकेको छ। क्लबले शाश्वतको क्षमताप्रति उच्च विश्वास व्यक्त गर्दै भविष्यका लागि महत्वपूर्ण लगानीका रूपमा लिएको छ।
क्लबका असिस्टेन्ट स्पोर्ट्स डिरेक्टर ओला तोइमोभेनले भने, “शाश्वत उत्कृष्ट र सम्भावनायुक्त खेलाडी हुन्। पछिल्ला दुई वर्षमा उनी एक आक्रामक फुल–ब्याकका रूपमा निकै विकसित भएका छन्।”
माल्मोका अनुसार शाश्वत प्राविधिक रूपमा सशक्त, बल कन्ट्रोलमा आत्मविश्वासी र खेल पढ्ने क्षमतामा दक्ष छन्। व्यावसायिक अनुबन्धपछि उत्साहित शाश्वतले क्लबको वेबसाइटमार्फत प्रतिक्रिया दिँदै भने, “यति ठूलो क्लबसँग सम्झौता गर्न पाउँदा निकै खुसी छु। पछिल्ला दुई वर्ष मेरो विकासका लागि उत्कृष्ट रहे। अब म सिनियर फुटबलमा अघि बढ्न उत्साहित छु र एलेडा स्टेडियममा डेब्यु गर्ने दिनको प्रतीक्षा गरिरहेको छु।”
सन् २०२२ को अन्त्यतिर शाश्वतलाई डेनमार्कको शीर्ष क्लब एफसी कोपनहेगन ले अनुबन्ध गरेको थियो। उनी २०२५ सम्म क्लबको यू–१७ र यू–१९ टोलीमा खेले। ६ वर्षदेखि फुटबल खेल्न थालेका र १४ वर्षमै कोपनहेगनको एकेडेमीमा प्रवेश गरेका उनले आफ्नो खेलकुद यात्रा निरन्तर उकासिरहेको देखिन्छ।
डेनमार्कमा जन्मेर हुर्किएका शाश्वत एक चरणमा नेपाली यू–२० टोलीको बन्द प्रशिक्षणका लागि नेपाल पनि आएका थिए। उनी पूर्व कराते खेलाडी विवेक राना र सुशिला हमालका छोरा हुन्। यसअघि उनले हेलेरुप आईके, लाएनबी बीके र एफसी कोपनहेगनका विभिन्न उमेर समूहका टोलीबाट खेलिसकेका छन्।
